काठमाडौँ, जेठ १५
नबिल बैंकले पीसीआर मेशिन खरिद गर्नको लागि कर्णाली प्रदेशलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत उक्त प्रदेशलाई पीसीआर मेसिन स्थापनाका लागि दियो २८ लाख २५ हजार रूपैयाँ सहयोग गरेको हो । मेसिनबाट नमुना छिटो र उच्च परिमाणमा परीक्षण गर्न सहयोग पुग्ने बिश्वास बैंकले लिएको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा तीन अर्ब १५ करोड ८६ लाख ८६ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैकको यस्तो नाफा तीन अर्ब १९ करोड १० लाख ७० हजार रूपैयाँ रहेको थियो ।
चुक्ता पुँजी १० अर्ब नौ करोड ७४ लाख ९७ हजार रूपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ७१ अर्ब दुुई करोड ४३ लाख २८ हजार रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४९ अर्ब ३९ करोड आठ लाख ९८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच अर्ब ३७ करोड पाँच लाख १२ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ६३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा बैकले एक खर्ब ६२ अर्ब ९५ करोड ४० लाख रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब २७ अर्ब ५० करोड दुुई लाख ४३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच अर्ब ४१ करोड ९४ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।