गाईघाट । सम्बन्धित निकायले ठेकेदारलाई ताकेता नगर्दा उदयपुरको रौतामाई गाउँपालिकाको वडा नं २ डाङ्सिनटारस्थित अस्पताल निर्माणको जिम्मेवारी लिएर पेस्की रकम लिएका ठेकेदार सम्पर्कविहीन भएपछि अस्पताल निर्माण वर्षौँदेखि अलपत्र परेको छ ।
१८ महिना पहिले निर्माण सुरु गरिएको दुर्गम क्षेत्रका करिब १५ हजार मानिसलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले बनाउन लागेको १५ शय्याको भुट्टार अस्पतालको जग निर्माणको काम अहिलेसम्म पूरा हुन सकेन ।
रौतामाई गाउँपालिकाका सब–इन्जिनियर दीपेन्द्र श्रीवास्तवले काठमाडौँको आर एन्ड सिएसबेकन ज्वाइन्टभेन्चर निर्माण कम्पनीले २०८१ साल भदौ १५ सम्ममा सम्पूर्ण काम सम्पन्न गर्ने गरी २०७९ साल असार २४ गते सम्झौता गरेर भवन निर्माणको काम सुरु गरेको र सो अनुसार तीन करोड रुपियाँ मोबिलाइजेसन बापत भुक्तानी लगेपछि कम्पनीका ठेकेदार छ महिनादेखि अस्पताल बनाउन फर्केर नआएको बताए ।