काठमाडौं । काठमाडौंको ठमेलमा एक जना ४७ वर्षीय बाओ ग्वाङ चिनियाँ नागरिक मृत अवस्थामा फेला परेका छन् । प्रहरी वृत्त, सोह्रखुट्टेले काठमाडौं–१७, ठमेल क्वाबहालस्थित नेपालय होम होस्टलमा चिनियाँ नागरिक मृत अवस्थामा फेला परेको बताएको छ ।
नेपालय होम होस्टलमा माघ १० गतेदेखि बस्दै आएको उनी शनिबार मृत अवस्थामा फेला परेपछि होस्टलका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । हालसम्मको अनुसन्धानमा कुनै शंकास्पद कारण नदेखिएको सोह्रखुट्टे प्रहरीका एक अधिकृतकाले जानकारी गराएका छन् । उनले पछिल्लो समय केही औषधि सेवन गरिरहेको भेटिएको छ । शवलाई पोष्टमार्टमका लागि प्रहरीले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ । उनको मृत्युको कारण पोष्टमार्टम प्रतिवेदनबाट खुल्नेछ ।