काठमाडौँ । पश्चिमी वायूसँगै आउने पश्चिमी न्यूनचापीय प्रणालीका कारण देशभरको मौसममा बदली भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आइतबार बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ ।
आइतबार दिउँसोसम्मको तथ्याङ्कअनुसार कोशी प्रदेशको तराईमा मात्र मौसम सफा रहेको छ भने साधारणतया बाँकी स्थानको मौसम बदली रहेको छ । महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले विगत २४ घण्टामा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको जानकारी दिए। सोमबार साँझदेखि क्रमशः मौसममा सुधार हुँदै जाने उनले बताए ।