काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा जनताका पक्षमा दरिलो भूमिका खेल्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीले तीन करोडभन्दा साना योजनाहरू केन्द्रमा नराखी तल्लो तहमा पठाइने बताउँदै आगामी आर्थिक वर्षमा परिणाम निस्किनेगरी बजेट ल्याउने तयारी गरिएको जानकारी दिँए ।
प्रधानमन्त्री प्रचण्डले आफूहरूको सक्रियतामा सङ्घीय लोकतन्त्र ल्याएको उल्लेख गर्दै भने, “यो व्यवस्था हामीले ल्याएको हुँदा यसको रक्षा र सुदृढ गर्ने दायित्व पनि हाम्रो नै हो । त्यसैले व्यवस्था विरोधी मतका विरूद्ध र व्यवस्थाको पक्षमा वैचारिक रूपले प्रस्तुत हुनुपर्छ ।”
उनले सांसद र जनताले समेत बहस गर्ने र उनीहरूको कुरा पनि समावेश हुनेगरी नीति तथा कार्यक्रम र बजेट बनाउन आगाडि बढिने बताए । साथै उनले सकेसम्म सहमतिबाट टिआरसी विधेयक टुङ्गाउँदा सबैको हितमा हुने पनि बताए ।