कपिलवस्तु । कर्मचारीका जायज माग पूरा गर्न आफू तयार रहेको भन्दै परिणाम देखिने गरी काम गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्देशन दिएका छन् । कृष्णनगर भन्सार र आन्तरिक राजश्व कार्यालयको निरीक्षणपछि कर्मचारीलाई निर्देशन दिँदै उनले भने, “को कहाँ र के जिम्मेवारीमा छ भन्नुभन्दा पनि परिणामका आधारमा मूल्यांकन हुन्छ ।”
अर्थमन्त्री डा. महतले कर्मचारीले गरेको कामले दिखे परिणामका आधारमा मूल्याङ्कन हुने बताए । उनले व्यवसायको अनुशासन, पारदर्शिताका साथ यथार्थ मूल्याङ्कन गरिए राजश्वको लक्ष्य नजिक पुग्न कठीन नहुने बताए ।
आन्तरिक राजश्व र भन्सारको अन्योन्यश्रित सम्बन्ध रहेको उल्लेख गर्दै व्यवसायको प्रकृति निरन्तर परिवर्तन भइरहेको विषयलाई मध्यनजर राख्न आग्रह गरे । उनले अहिले धेरै वस्तुलाई भ्याटको दायरामा ल्याइएको भन्दै त्यसबाट कति कारोबार भयो ? कति आय भयो भन्ने पत्ता लगाउन सकिने बताए ।
मन्त्री डा. महतले होटल, रेस्टुराँजस्ता सेवा व्यवसायको सङ्ख्या बढिरहेको हुँदा नयाँ व्यवसाय दर्ता भएर कति कारोबार गरिरहेका छन् भन्ने कुराको अनुगमन गर्दै उनीहरुलाई कर प्रणालीमा जोड्नुपर्ने बताए । उनले अनुशासन र पारदर्शीका साथ राजश्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई निर्देशन दिए ।