काठमाडौं, जेठ १८
सरकारले कोभिड–१९ को संक्रमण फैलिन नदिन ०७६ चैत ११ देखि लागू गर्दै आएको लकडाउन यही जेठ ३२ गतेसम्म लम्ब्याएको छ । शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा लकडाउन १२ दिन थप्ने निर्णय गरेको हो । पछिल्लोपटक थपिएको लकडाउनको समय यही जेठ २० राति १२ बजे सकिँदै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले जेठ मसान्तसम्म लकडाउन थप्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार बैठकले अन्तर्राष्ट्रिय सीमानाका र विमानस्थल आगामी असार १६ गतेसम्म बन्द गर्ने निर्णय पनि गरेको छ ।
सरकारले सीमा क्षेत्रमा आवागमन स्थगन गर्दै गर्दा त्यहाँबाट आउने जाने कुरालाई अलि कडाइ गर्ने र सीमा वारिपारि गर्ने विषयमा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार जाँच गरेर मात्रै लाने वा लैजाने कुरा पालना गर्न/गराउनका लागि छिमेकी मुलुकसँग सहकार्य गर्ने निर्णय समेत गरेको मन्त्री खतिवडाले जानकारी दिए । बन्दाबन्दी अवधिमा यसको ढाँचाबारे कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले निर्णय गर्ने उनले बताए । यसैबीच, शनिबार बसेको सुरक्षा परिषद्को बैठकमा अन्तर्राष्ट्रिय सीमा विवाद तथा कोभिड–१९ सँग सम्बन्धित अन्तर्राष्ट्रिय जोखिम र चुनौती सम्बोधन गर्न सुरक्षा निकायलाई कसरी परिचालन गर्न सकिन्छ भन्नेबारे छलफल भएको अर्थमन्त्री डा. खतिवडाले जानकारी दिए ।
उनले भने, ‘खासगरी अहिले सीमा क्षेत्रहरुमा सीमा वारपारका गतिविधि र मान्छेको आवागमनलाई कडाइका साथ पालना गराउन सशस्त्र प्रहरीको गस्ती बढाउने एवं जनशक्ति थप्ने र त्यसका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई बढी परिचालन गर्ने विषयमा पनि छलफल भएको छ ।’ त्यस्तै, विदेशबाट फर्काइनलागेका नागरिकको व्यवस्थापनमा सेना परिचालन गर्ने पनि बैठकले निर्णय गरेको छ । यसबाहेक कोरोना संक्रमण बढी भएका स्थानमा पनि सेना परिचालन गरिने भएको छ । नेपालको तराई क्षेत्रमा कोरोना संक्रमण धेरै देखिएको छ ।