सबास बस्नेत
दोलखा, जेठ १८
कोरोना संक्रमणको हिसाबले सुरक्षित मानिएको दोलखा जिल्लामा गत बिहीबार एक जनामा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमण जिल्लाको सूचीमा परेको छ । बिहीबार जिल्लाको भीमेश्वर नगरपालिकाका एक ७६ वर्षीय वृद्धमा कोरोना संक्रमण देखिएको हो । भीमेश्वर नगरपालिकामा कोरोना संक्रमण देखिएपछि यहाँका स्थानीय त्रसित भएका छन् । भीमेश्वर नगरपालिका वडा नम्बर २, तिखातलका एक ७६ वर्षीय वृद्धलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिए ।
केएमसी अस्पतालमा उपचारकै क्रममा आरडीटी परीक्षण पोजेटिभ देखिएपछि स्वाब संकलन गरेर टेकुमा गरिएको पीसीआर परीक्षणमा पनि पोजेटिभ देखिएपछि गतबुधबार राती नै उनलाई महाराजगंजस्थित टिचिङ अस्पतालमा लगेर भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । संक्रमितलाई उनकी बुहारीले उपचारको लागि काठमाडौं लगेकी थिइन् । संक्रमितको घरलाई बाह्य सम्पर्कका लागि रोक लगाइएको दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । घरमा रहेका २ छोरीसहित उनको सम्पर्कमा रहेका २५ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएकोमा शुक्रबार सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य प्रमुख झाले जानकारी दिए । हिँडडुल गर्न नसक्ने ती वृद्धलाई उच्च रक्तचाप देखिएपछि गतशनिबार स्थानीय अस्पतालमा उपचारको लागि लगिएकोमा टाउकोमा रगत जमेको कारण काठमाडौं रिफर गरिएको थियो ।
पछिल्लो समय कोरोना संक्रमण फैलिएको छिमेकी देश भारतलगायत नेपालका संक्रमित जिल्लाबाट पछिल्ला दिनमा मानिस लस्कर लागेर गाउँ फर्किन थालेका छन् । यो साता मात्र भारतबाट करिब दुई सयको हाराहारीमा दोलखाली गाउँ फर्केका छन् । गत आइतबार करिब एक सय जना भारतबाट फर्केका नागरिकलाई गाउँका विद्यालयमा निर्माण गरेका क्वारेन्टाइनमा राखिएको छ । भारतबाट दैनिक गाउँघरमा मानिस आउन थालेपछि सहरभन्दा गाउँमा कोरोनाको जोखिम बढेको छ ।