काठमाडौँ । राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसद वामदेव गौतमले वैदेशिक रोजगारीबाट आएको रकमलाई मुलुकको विकासमा खर्च गरिनुपर्ने बताएका छन् । उनले प्राप्त रकमलाई सरकारले कम्तीमा १० प्रतिशत ब्याज दिने गरी विकास निर्माणमा खर्च गर्न सकिने धारणा राखे ।
नेता गौतमले अहिले कमजोर रुपमा रहेको अर्थतन्त्रलाई सुधारेर मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउन जरुरी भएको बताए । उनले वैदेशिक रोजगारीबाट प्राप्त रकम जनताको रगत र पसिनाको कमाइ हो र त्यो नेपाल सरकारको सम्पत्ति पनि हो । त्यसलाई सरकारले कुनै बैंकमा राखेर कम्तीमा १० प्रतिशत ब्याज दिएर राख्नुपर्छ र उनीहरु स्वदेश आएपछि दिनुपर्ने बताए । उक्त रकम सरकारले देश विकास निर्माणमा खर्च गर्नसके मुलुक आत्मनिर्भरको बाटोमा अघि बढ्न सक्ने उनको भनाइ छ ।
नेता गौतमले बहुदलीय प्रतिस्पर्धाको माध्यमबाट मुलुकमा समाजवाद स्थापना गर्न सकिन्छ भनेर आजसम्मका प्रधानमन्त्रीले ढाँचासमेत प्रस्तुत गर्न नसकेको जिकिर गर्दै उनले बहुदलीय प्रतिस्पर्धाको प्रणालीबाट कस्तो किसिमको समाज निर्माण गर्ने भन्ने विषय संविधानमा व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यान्वयनमा सरकार र राजनीतिक दलले ध्यान दिन नसकेको टिप्पणी गरे ।