पोखरा । पोखरास्थित मित्रमिलन सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएर पक्राउ परेका विष्णुप्रसाद भण्डारी धरौटीमा छुटेका छन् । भण्डारी सोमबार राति निवासबाटै पक्राउ परेका थिए । थुनछेक बहसपछि कास्की जिल्लाअदालतका न्यायाधीश रामचन्द्र शर्माको इजलासले भण्डारीलाई सात लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । त्यसपछि सात लाख धरौटी बुझाएर भण्डारी रिहा भएको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए । सहकारी घोटलामा जोडिएका सूर्य अधिकारी पनि यसअघि धरौटीमै रिहा भएका थिए । सहकारीका अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारी, सदस्य गोपाल खनाल, राजु बराल र बुद्धिसागर पौडेल थुनामा छन् । सहकारीबाट करोड बढी घुस लिएको आरोप लागेका कुश्मा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत तथा सहकारी रजिष्ट्रारको कार्यालयका पूर्व रजिष्ट्रार उदय बहादुर पराजुली पूर्पक्षका लागि थुनामै छन् । यस प्रकरणमा जोडिएका ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकामा २५ जना अझै फरार छन् । सहकारीका ३ हजार ४ सय ४६ वचतकर्ताका २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगिएकोमा सरकारी वकिलको कार्यालयले कानुनबमोजिम सजाय र २१ करोड बिगो मागदावी गरेर मुद्दा दायर गरेको छ ।