काठमाडौं । एक वर्षमा नेपालका बैंक तथा वित्तीय संस्थामा ४२ हजार कर्जा खाता थपिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत वर्ष पुसदेखि यसवर्ष मंसिर मसान्तसम्म ५४ वटा बैंक तथा वित्तीय संस्थामा ४२ हजार छ सय ७० वटा कर्जा खाता थपिएको छ । यससँगै बैंक तथा वित्तीय संस्थामा सञ्चालनमा रहेका जम्मा कर्जा खाताको संख्या १८ लाख ५८ हजार तीन सय ५५ पुगेको छ । गतवर्ष मंसिर मसान्तमा यस्तो संख्या १८ लाख १५ हजार छ सय ८५ थियो ।
वाणिज्य बैंकहरूमा मात्र सञ्चालनमा रहेका कर्जा खाताको संख्या १५ लाख २७ हजार सात सय १४ छ । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१ हजार नौ सय ६४ वटाले बढी हो । एक वर्षअघि वाणिज्य बैंकहरूमा १४ लाख ८५ हजार सात सय ५० वटा कर्जा खाता सञ्चालनमा थिए ।
विकास बैंकहरूमा दुई लाख ८८ हजार पाँच सय ७५ कर्जा खाता सञ्चालनमा छन् । जुन एक वर्षअघिको तुलनामा दुई सय ५३ ले बढी हो । गतवर्ष मंसिर मसान्तमा विकास बैंकहरूमा दुई लाख ८८ हजार तीन सय २२ वटा कर्जा खाता सञ्चालनमा थिए । फाइनान्स कम्पनीहरूमा गत मंसिर मसान्तसम्म ४२ हजार ६६ वटा कर्जा खाता खोलिएका छन् । यो संख्या एक वर्षअघिको तुलनामा चार सय ५३ वटाले बढी हो । एक वर्षअघि फाइनान्स कम्पनीहरूमा ४१ हजार छ सय १३ वटा कर्जा खाता सञ्चालनमा थिए ।