चितवन । नेपाली कांग्रेस चितवन सूचना तथा प्रचार विभागले आइतबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले वर्तमान सरकार गठन हुँदाको समयको तुलनामा अहिले धेरै सुधार भएको बताएका छन् ।
मन्त्री गुरुङले धेरै सुधार भए पनि मुलुकमा अझै अप्ठ्यारो अवस्था भने कायमै रहेको उल्लेख गरे । केही अप्ठ्यारो परिस्थितिका कारण जनताको चाहनाअनुसार काम हुन नसकेको उनको भनाइ थियो । न्यायालय स्वतन्त्र छ भन्दैमा न्यायाधीशले आफूखुसी निर्णय गर्न नपाउने बताउँदै न्यायाधीशहरुले कमी कमजोरी गरे न्यायपरिषद्ले कारबाही गर्ने उनको भनाइ थियो । न्याय सम्पादनमा यदि कमी कमजोरी देखियो र त्यसमाथि केही कुरा जोडिएर आयो भने सरकारले कसैलाई नछोड्ने उनले बताए ।
फरक प्रसङ्गमा बोल्दै मन्त्री गुरुङले राजनीति निरन्तर बग्ने नदी भएकाले उतारचढाव आइरहने भन्दै समुदायमा कांग्रेस अभियानका क्रममा देखिएको निराशाबाट आत्तिनुपर्ने अवस्था नरहेको बताए । सहकारी पीडितका विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरिरहेको बताउँदै उनले दोषी देखिएका सबैलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारे ।