मोरङ । विराटनगर महानगरपालिका–५ बरगाछि चोकमा ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा एक युवाको मृत्यु भएको छ । आइतबार बिहान बा.प्र ३–००१ ख १४११ नम्बरको ट्रकले को.३६ प २८८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुनसरी दुहबी नगरपालिका–९ बस्ने २५ वर्षीय नगेन चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त घटनालाई लिएर आक्रोशित स्थानीय बासिन्दाले ट्रकमा आगजनी गर्दा ट्रकको अगाडिको भाग जलेर क्षति भएको छ । साथै घाइते भएका ट्रक चालकलाई उपचारको लागि बिराट नर्सिङ होमतर्फ पठाइएको छ भने आगजनीमा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।