काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सोमबार राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस गरेका छन् ।
राष्ट्रपति पौडेलले प्रतिवेदन बुझेपछि मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता, स्वतन्त्रता, अखण्डता, राष्ट्रिय सुरक्षालगायतका संवेदनशील कार्यमा राष्ट्रिय सुरक्षा परिषद् सधैँ चनाखो रही कार्यसम्पन्न गर्न दृढ रहनेमा आफू विश्वस्त रहेको बताए ।
मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनताको संरक्षण गर्दै राष्ट्रिय एकताको प्रवर्द्धन गर्न, विभिन्न जातजाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायबीच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धता कायम गरी सङ्घीय एकाइबीच परस्परमा सहयोगात्मक सम्बन्ध विकास गर्न, राष्ट्रिय सुरक्षा प्रणालीको विकास गरी शान्ति सुव्यवस्था कायम गर्न एवं सर्वाङ्गीण मानवीय सुरक्षाको प्रत्याभूति कायम गर्न राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको उनले स्पष्ट पारे ।
नेपालको संविधानको धारा २६६ को उपधारा ३ मा राष्ट्रिय सुरक्षा परिषद्ले आफ्नो काम कारबाहीको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ । नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम व्यवस्था भएको राष्ट्रिय सुरक्षा परिषद्ले मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता, स्वतन्त्रता, अखण्डता, सुरक्षालगायतका संवेदनशील कार्यमा आफ्नो रणनीतिक दृष्टिकोणसहित ठोस सुझाव प्रस्तुत गरेकामा राष्ट्रपति पौडेलले खुसी व्यक्त गरे ।
उक्त समारोहमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा. प्रकाशशरण महतलगायत परिषद् सदस्यहरूको उपस्थिति थियो ।