काठमाडौं । विशाल ग्रुपले कब्जा गरेको २८ रोपनी जग्गा फिर्ताको माग गर्दै मोहन वैद्य निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी) ३ नम्बर प्रदेश संगठन समितिले प्रदर्शन गरेको छ । आज सोमबार दिउँसो करिब २ बजेतिर समितिले काठमाडौं महानगरपालिका–५ मालिगाउँस्थित वृहस्पति विद्यासदन स्कुल अगाडि प्रदर्शन गरेको हो । नेपालको चर्चित व्यापारीक घराना विशाल ग्रुपले बाल मन्दिरको २८ रोपनी पाँच आना जग्गा लिजमा लिने नाममा अवैध रुपमा कब्जा गरेको र तत्काल फिर्ता गर्नु पर्ने जस्ता मागहरु राखी अखिल क्रान्तिकारीका प्रदेश नम्बर ३ का संयोजक उषाकिरण आजाद(कामी), केन्द्रीय सह–संयोजक विरेन्द्र शाह, त्रिवि विश्वविद्यलय संयोजक गोविन्द्र बिष्ट, केन्द्रीय सचिवालय संयोजक डम्बर शाहीलगायत करिब १५ जनाको उपस्थितिमा प्रदर्शन गरिएको थियो । उनीहरुले सरकारी सार्वजनिक जग्गा हडप्ने भूमाफिया मुर्दावाद, बृहस्पति विद्यासदन बन्द गर, सरकारी सार्वजनिक जग्गाको संरक्षण गरौँ, सम्पूर्ण देशभक्त नेपालीहरु एक हौँ, विशाल ग्रुप समझैता खारेज गर आदि लेखिएका प्लेकार्ड तथा ब्यानर बोकी नाराहरु गरेका थिए ।