काठमाडौं । जापान पठाइदिन्छु भन्दै ३५ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । मकवानपुर निबुवाटार गाउँपालिका–४ घर भई ललितपुर सानेपा बस्ने ३७ वर्षीय पुरूषोत्तम अधिकारीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । अधिकारीले ६ जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाई प्रतिष्ठित कम्पनीमा मासिक एक लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–३१ बिजुली बजारबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।