काठमाडौं । ३६ लाख रुपैयाँमा जालसाजी गरेर लिएको बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा नेपाल बैंक लिमिटेडमा दृष्टिबन्धक पास गरेर चौधरी ग्रुपले २८ करोड ८० लाख रुपैयाँ कर्जा लिएको पाइएको छ ।
सरकारले अहिले चौधरी ग्रुपमाथि कारबाही गरी जग्गा फिर्ता लिने प्रक्रिया सुरु गरेपछि नेपाल बैंकले चौधरी ग्रुपलाई कर्जा चुक्ता गर्न ताकेता गरेको थाहा भएको छ ।
डिल्लीबजारस्थित भूमि सुधार तथा मालपोत कार्यालयले गत माघ २४ गतेदेखि उक्त जग्गा फिर्ता लिने प्रक्रिया सुरु गरेको छ । सीजी चाँदवाग रेसिडेन्सीका अध्यक्ष सञ्जय ठाकुरलाई २१ दिनभित्र उपस्थित हुन कार्यालयले काटेको पत्रको म्याद फागुन १६ मा सकिनेछ ।
उक्त जग्गा घोटालामा सीआईबीले अध्यक्ष ठाकुर, बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र विनोद चौधरीका भाई अरुण चौधरीलाई गत माघ १८ गते पक्राउ गरेर अनुसन्धान थालेको थियो । तर, काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यले अनुसन्धान नसकिए पनि दुई दिनभित्र छाड्न भनेपछि उनीहरू माघ २४ गते छुटेका थिए ।
उनीहरू छुटे पनि सीआईबीले उनीहरूमाथिको अनुसन्धान रोकेको छैन र जालसाजी गरेर लिएको सरकारी स्वामित्वको १० रोपनी जग्गा फिर्ता गराउने प्रक्रियालाई अघि बढाइरहेको छ । त्यसले गर्दा नेपाल बैंकको कर्जा धितोविहीन भएर डुब्ने सम्भावना रहेकोले बैंकले उक्त कर्जा चुक्ता गर्न चौधरी गु्रपलाई दबाब दिएको बुझिएको छ ।