काठमाडौँ । पाँच लाख डेनिस क्रोनसहित बिहीबार नेपाल प्रहरीले दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको उनीहरू फ्लाई दुबईको उडानबाट दुबईबाट नेपाल आएका थिए । उनीहरूलाई करिब ९५ लाख ४३ हजार तीन सय ८४ नेपाली हुनआउने उक्त विदेशी मुद्रा अवैधरुपमा लुकाइछिपाई लैजान लागेको अवस्थामा पक्राउ गरेको प्रहरीले जानकारी गराए ।
केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले पक्राउ पर्नेमा ३१ वर्षीय येसिन अहमद र ४८ वर्षीय मोहम्मद अदनान लखानी रहेको जानकारी दिएका छन् ।
केन्द्रीय प्रहरी प्रवक्ता ढकालले पक्राउ परेका निज पाकिस्तानी नागरिकलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइने बताए ।