काठमाडौं । नेपालको सार्वजनिक ऋण २४ खर्ब पुग्न लागेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार माघ मसान्तसम्म नेपालको तिर्न बाँँकी ऋण २३ खर्ब ८६ अर्ब ७७ करोड रुपैयाँ छ । यसमध्ये आन्तरिक ऋण ११ खर्ब ८४ अर्ब ५२ करोड रुपैयाँ र बाह्य ऋण १२ खर्ब दुई अर्ब २४ करोड रुपैयाँ छ ।
माघसम्मको सार्वजनिक ऋणलाई नेपालको जनसंख्यामा भाग लगाउँदा प्रतिव्यक्ति ऋण ८१ हजार आठ सय ३७ रुपैयाँ पुगेको छ ।
चालू आर्थिक वर्ष २०८०/८१ को सात महिनामा सरकारले दुई खर्ब दुई अर्ब ४३ करोड रुपैयाँ बराबरको ऋण उठाएको छ । यसमध्ये आन्तरिक ऋण एक खर्ब ५० अर्ब ३१ करोड र बाह्य ऋण ५२ अर्ब १२ करोड रुपैयाँ प्राप्ति गरेको छ ।
२०८० असार मसान्तमा सार्वजनिक ऋण २२ खर्ब ९५ अर्ब ४३ करोड रुपैयाँ थियो । सात महिनामा सार्वजनिक ऋण ९१ अर्ब ३४ करोड रुपैयाँले बढेको छ । सरकारले ९० अर्ब ९७ करोड आन्तरिक ऋण र २० अर्ब १२ करोड रुपैयाँ बाह्य ऋण गरी कुल एक खर्ब ११ अर्ब १० करोड रुपैयाँ भुक्तानी गरेको छ । सरकारले दुई खर्ब दुई अर्ब बढी ऋण उठाए पनि एक खर्ब ११ करोड बढी साँवाब्याज भुक्तानी गरेका कारण सार्वजनिक ऋणको वृद्धि ९१ अर्ब ३४ करोड रुपैयाँ मात्रै देििखएको छ ।
कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा सार्वजनिक ऋणको हिस्सा ४४ प्रतिशत हाराहारी पुगेको छ । बाह्य ऋणको चाप करिब २३ प्रतिशत छ भने आन्तरिक ऋणको चाप २१ प्रतिशत देखिन्छ । सरकारले आन्तरिक ऋणको साँवा ब्याज भुक्तानीमा ठूलो रकम खर्च गर्नु परिरहेको छ ।
सरकारले चालू आर्थिक वर्षको बजेटमा दुई खर्ब १२ अर्ब ७५ करोड रुपैयाँ वैदेशिक ऋण र दुई खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण जुटाउने लक्ष्य लिएको छ । तर, अर्धवार्षिक समीक्षामार्फत अर्थमन्त्री डा. प्रकाशशरण महतले वैदेशिक ऋण प्राप्ति एक खर्ब ७७ अर्ब ४२ करोड रुपैयाँ बराबर हुने अनुमानित लक्ष्य प्रस्तुत गरेका थिए । सात महिनामा ५२ अर्ब १२ करोड रुपैयाँबराबर मात्रै बाह्य ऋण प्राप्ति गरेको सरकारका लागि संशोधित लक्ष्य पूरा गर्न पनि धेरै टाढा छ ।