काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियाको लागि नौ हजार जनाभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । आकर्षक सेवा–सुविधाका कारण आकर्षक गन्तव्य बनेको कोरिया जानका लागि मासिक सयौँ युवाले श्रम स्वीकृति लिनेगरेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार चालू आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा नौ हजार ८० जनाले कोरिया जान श्रम स्वीकृति लिएका छन् ।
झण्डै एक लाख नेपाली अहिले पनि कोरियामा कार्यरत छन् । कोरियाको श्रमबजारमा आकर्षण बढ्दै जाँदा त्यहाँ काम गर्ने नेपालीको संख्या बढ्ने निश्चित रहेको विभागका अधिकारीहरू बताउँछन् । विभागका प्रवक्ता कविराज उप्रेतीका अनुसार पुससम्म छ हजार आठ सय जनाले कोरियाका लागि श्रम स्वीकृति लिएको माघमा एक हजार जना बढीले श्रम स्वीकृति लिएसँगै संख्या बढेको जानकारी गराए । साउनमा दुई हजार चार सय १४ जना, भदौमा आठ सय ७२ जना, असोजमा चार सय ८५ जना, कात्तिकमा दुई सय ६८ जना, मंसिरमा एक हजार सात सय ३९ जना, पुसमा एक हजार चार सय २५ जना र माघमा एक हजार छ सय ६० जनाले श्रम स्वीकृति लिएका छन् ।
कोरियामा सबैभन्दा बढी कृषि र उत्पादनमूलक क्षेत्रमा नेपाली श्रमिकहरूले काम गर्न पाउने व्यवस्था छ । तीन सय जनाभन्दा कम कामदार रहेको साना तथा मझौला उत्पादनमूलक कम्पनीहरू र कृषि र पशुपालन क्षेत्रसँग सम्बन्धित कम्पनीहरूमा उनीहरू श्रमिकको रूपमा रहन्छन् । आकर्षक तलबका कारण कोरिया रोजगारी नेपाली समाजमा आकर्षण रहेको पाइन्छ । मासिक एक लाख ५० हजार तलब बुझ्ने तथा थप समय काम गरेबापत तीनदेखि चार लाख रुपैयाँसम्म पाउने हुँदा नेपाली श्रमिक कोरियाली रोजगारीमा आकर्षित भएको मन्त्रालयका अधिकारीहरू बताउँछन् । यतिमात्र सीमिति नभई नेपाल र कोरियाको अर्थतन्त्रमा समेत नेपाली श्रमिकको योगदान रहेको पाउन सकिन्छ । नेपालका साथै बंगलादेश, श्रीलंका, थाइल्याण्ड, इन्डोनेसिया, कम्बोडियालगायतका १६ वटा मुलुकबाट कोरियाले श्रमिक लैजाने गरेको छ ।
रोजगारीको लागि जाने नेपाली श्रमिकको संख्या अहिलेसम्म ९५ हजार सात सय ३५ जना पुगे पनि पछिल्ला समयमा कोरियासँग श्रम समझादारी हुन सकेको छैन । नेपाल–कोरियाबीच श्रम समझदारी हुन नसक्दा श्रमिकको सेवा–सुविधा समेत परिवर्तन, श्रमिक माग, काम गर्ने क्षेत्रलगायतका विषयमा परिवर्तन हुन सकेको छैन । सन् २०२३ मा १६ वटा मुलुकबाट एक लाख १० हजार विदेशी श्रमिक कोरिया भित्र्याउने योजना भएकाले रोस्टरमा दुई गुणा बढीको अनुमान गरी परीक्षामा धेरै उत्तीर्ण गराइएकोमा सो संख्यामा नेपाली श्रमिकहरू कोरिया प्रवेश गरेका हुन् । नेपाली श्रमिकको हकमा नेपाल आएर कोरिया पुनः प्रवेश गर्न गाह्रो भएकाले कोरिया प्रवेश गरेपछि प्रायः रोजगारस्थल परिवर्तन नगरी चार वर्ष १० महिनासम्म लगातार काम गरेर प्रतिबद्ध श्रमिक आउने भएकाले कोरियाको रोजगारदाताहरूले नेपालीलाई धेरै नै रुचाउने गरिएको कोरियाली पक्षको भनाइ छ ।
साथै नेपालको श्रम मन्त्रालयको सक्रिय प्रयासको कारणले श्रम सम्झौतापश्चात् अरु राष्ट्रभन्दा नेपालीहरू छिटो कोरिया प्रवेश गर्ने भएकाले कोरियन रोजगारदाताले धेरै नेपाली श्रमिकहरूलाई काममा लिनेगरेका छन् । अर्कोतर्फ कोरियाका रोजगारदाताले एक पटक श्रमिक लिएपछि कम्तीमा १० वर्षजति लगातार काम गर्नसक्ने श्रमिक लिन चाहन्छन् अर्थात् कोरियाबाट फर्केकाहरूभन्दा नयाँ श्रमिकलाई रुचाउँछन् । कोरियाबाट फर्केकाहरूको श्रम सम्झौता दर नयाँको भन्दा निकै कम छ । गत आर्थिक वर्षमा पाँच हजार नौ सय ४१ जना नेपाली श्रमिक श्रम स्वीकृति लिई कोरिया गएका थिए ।
नेपाली श्रमिक कोरिया लैजानका लागि दुई मुलुकले श्रम समझादारी (एमओयू) नवीकरण गर्नेगरेका छन् । सम्झौताको सुरुवात नेपाली श्रमिक कोरिया प्रवेश गरेको दिनबाट सुरु हुनेछ भने प्रवासी श्रमिक वा नेपाली श्रमिमको कारणले रोजगार सम्झौता बदर भएमा कामदारले एक वर्षसम्मका लागि रोजगार आवेदन गर्नबाट वञ्चित गरिने व्यवस्था गरिएको छ । यसको लागि पटक–पटकको समय भने प्रदान गरिएको छ । यसैबीच कोरियाली पक्षले नेपालमा परीक्षा पारदर्शी हुनुको साथै कोरियामा छिर्ने नेपाली श्रमिकको संख्या ठूलो भएकाले १६ वटा मुलुकमध्ये नेपाल उत्कृष्ट उदाहरण बनेको बताउने गरेको छ । नेपाली श्रमिकको हकमा कोरियाली सरकारको अनुसार कोरियन रोजगारदाताले पारिश्रमिक दिने भएकोले रोजगारदाताले विदेशी श्रमिक छनौट गर्दा रोजगारादाताको राय सबैभन्दा महत्वपूर्ण हुने बताइएको छ भने रिटर्नी र रोस्टरमा रहेकामध्ये छनौटको अधिकार रोजगारदातलाई रहेको कोरियाली सरकारको भनाइ छ । मुलुकमा पर्याप्त रोजगारी नहुँदा बाध्यात्मकरूपमा नेपाली श्रमिक कामका लागि विभिन्न मुलुक जानेगरेका छन् भने त्यसमध्ये कोरियाली रोजगारी सुरक्षित, उचित पारिश्रमिक, अन्तर्राष्ट्रिय मापदण्डअनुरूप कार्यअवधिलगायतका सुविधाका कारण नेपालीहरूको उत्कृष्ट रोजाइ बनेको छ ।