इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–१ मा शुक्रबार स्थानीयसँग कुरागर्ने क्रममा कोसी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले इनरुवा–दुहबी सडकको निर्माण चाँडै सुरु हुने बताएका छन् ।
मुख्यमन्त्री कार्कीले सो सडकखण्ड निर्माणका लागि बोलपत्र आह्वानको प्रक्रिया अगाडि बढेकाले निर्माण चाँडै सुरु हुने उल्लेख गरे । उनले यस जिल्लाको विकासका लागि टुक्रे योजनाभन्दा जनतालाई प्रत्यक्ष फाइदा हुने योजना आवश्यक भएको बताए ।
सो अवसरमा पूर्वराज्यमन्त्री सीताराम मेहता, नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहता, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, उपप्रमुख विनिताकुमारी मेहता, इनरुवा–५ का वडाध्यक्ष अनिल पोखरेललगायतको सहभागिता रहेको थियो । सबै सहभागीहरुले इनरुवा–दुहबी सडक निर्माण सुरु गर्नका लागि आग्रह गरेका थिए ।