काठमाडौं, जेठ १९
नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियुुन) युवा समितिले कोभिड–१९ द्वारा सृजित लकडाउनको विषम परिस्थितिमा दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने ८२ घर परिवारहरूलाई खाद्य सहयोग गरेको छ । नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय समितिले विगतमा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरू गर्दै आएकोमा यस विषम परिस्थितिलाई मध्यनजर गर्दै फियन युवा समितिले सो कार्यक्रमलाई निरन्तरता दिएको हो ।
फियन युवा समितिद्वारा लकडाउनले मारमा रहेका अनौपचारिक क्षेत्रका गलैंचा श्रमिक र निर्माण सम्बद्ध श्रमिकहरूका ४० घर परिवारलाई भक्तपुरमा सहयोग प्रदान गरेको हो । त्यस्तै, रिक्सा ठेला श्रमिक, निर्माण सम्बद्ध र छापाखानाका श्रमिकहरूका ४२ घर परिवारलाई काठमाडौँमा केही खाद्यान्न सामग्री वितरण गरी सहयोग प्रदान गरेको छ । फियन, राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष धर्मप्रसाद खनालले लकडाउनका कारण समस्यामा रहेका अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई ठूलो सहयोग गर्न नसके पनि औपचारिक र अनौपचारिक क्षेत्रमा काम गर्ने सबै श्रमिक वर्ग नै भएकोले साथीहरूको दुःखमा साथदिनको लागि सहयोग कार्यक्रम गरिएको बताए ।
राहत वितरण कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय सदस्य बलदेव तामाङ, फियनका बरिष्ठ उपाध्यक्ष धर्मप्रसाद खनाल, नेपाल अटो रिक्सा, ई–रिक्सा तथा रिक्सा ठेलासँग सम्बद्ध श्रमिक संघका अध्यक्ष खिला बस्नेत, फियनका उपाध्यक्ष परशुराम खनाल, महासचिव हरिराज खरेल, फियन सहकारीका अध्यक्ष बासुदेव खत्री, नेपाल ट्रेड युनियन कांग्रेस, भक्तपुर जिल्ला समितिका अध्यक्ष विष्णु खड्का, नेपाल ट्रेड युनियन कांग्रेस, काठमाडौं जिल्ला समितिका निवर्तमान अध्यक्ष गणेश भट्टराई, युनिप्रेसका उपमहासचिव सुदिप बुढाथोकीलगायत फियन युवा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । फियन युवा समितिका अध्यक्ष जेम्स जोशीले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूलाई खाद्य सामग्री वितरण गर्नको लागि सहयोग गरेका सबैलाई धन्यवाद दिएका छन् ।