काठमाडौं, जेठ १९
ग्लोबल आईएमई बैंक लिमिटेडले विभिन्न जिल्लामा रहेर पत्रकारिता गर्ने फोटो पत्रकारहरूलाई प्रेस ज्याकेट उपलब्ध गराएको छ । आइतबार एक कार्यक्रमकाबीच बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष ध्रुव आलेलाई उक्त ज्याकेटहरू हस्तान्तरण गरेका हुुन् । कार्यक्रममा बैंकका नायब महाप्रबन्धक रेग्मीले प्रेस ज्याकेटले फोटो पत्रकारहरूलाई बन्दाबन्दीको अवस्थामा रिपोर्टिङमा जाँदा सहज हुने अपेक्षा रहेको बताए । उनले नेपाल फोटो पत्रकार महासंघमार्फत फोटो पत्रकारहरूलाई सहयोग गर्न पाएकोमा खुशीसमेत व्यक्त गरे । नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष ध्रुव आलेले बैंकले प्रदान गरेको प्रेस ज्याकेटले फोटो पत्रकारहरूलाई महामारीको अहिलेको जटिल परिस्थितिमा रिपोर्टिङमा सहज हुने बताए । उनले ज्याकेट सहयोगको लागि बैंकलाई धन्यवाद समेत ज्ञापन गरे ।
बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरूमा सहयोग गर्दै आएको छ । उक्त कार्यक्रममा महासंघका पदाधिकारीहरू तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुुई अर्ब ७० करोड २६ लाख १४ हजार आठ सय ९४ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही बैकले एक अर्ब ८७ करोड २१ लाख २४ हजार पाँच सय १२ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । हाल चुक्ता पुँजी १८ अर्ब ९७ करोड ५८ लाख ७९ हजार रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा दुुई खर्ब एक अर्ब ५९ करोड ६९ लाख ९९ हजार पाँच सय ४४ रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब ९५ अर्ब १८ करोड ८४ लाख एक हजार नौ सय १५ रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा छ अर्ब ३३ लाख ५२ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव १४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब २० अर्ब आठ करोड ८४ लाख ४० हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब आठ अर्ब ९७ करोड ७६ लाख रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ६८ करोड ७९ लाख ४५ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।