काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा लगानीको वातावरण सिर्जना हुन नसक्नु अर्थतन्त्रका लागि मुख्य चुनौती भएको बताएका छन् ।
लगानीयोग्य रकम अधिक तरलता हुँदा समेत लगानी हुन नसक्नु र व्यापार व्यवसाय फस्टाउन नसक्नु आर्थिक समृद्धिका लागि बाधक रहेको उनले बताए । राष्ट्रिय व्यापार संघको साधारणसभामा उनले बैंक वित्तीय संस्थामा झण्डै पाँच खर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएर बसेको तर सरकारले पुँजीगत खर्च गर्न नसकेको उल्लेख गरे । अधिक तरलता भएर पनि लगानीको वातावरण बन्न नसकेको उनको भनाइ थियो । सरकारको पुँजीगत खर्च अपेक्षाअनुसारको हुन सकेको भए अर्थतन्त्र चलायमान हुने उनको दाबी छ । बैंक वित्तीय संस्थामा उच्च ब्याजदरकै कारण लगानी आकर्षित हुन नसकेको पनि उनले बताए । अर्थतन्त्रको बाह्य सूचकमा सुधारका केही संकेत देखिए पनि आन्तरिकतर्फ सुधार हुन नसकेको भन्दै उनले पुँजी चलायमान बनाउने गरी आर्थिक र वित्तीय नीति पुनरावलोकन हुनुपर्नेमा जोड दिए ।
पुँजीगत खर्च समयमै हुनेगरी समयबद्ध तालिका निर्धारण गर्नुपर्ने उनले बताए । ‘चालू आर्थिक वर्षको सात महिना पूरा भइसक्दा समेत विकास खर्च २१ प्रतिशतमा सीमित छ । सुरुमा महत्वाकांक्षी बजेट ल्याउने खर्च गर्न नसकेपछि संशोधन गर्ने परिपाटीलाई अन्त्य गरिनुपर्छ,’ उनले भने । साना तथा मध्यमखाले उद्योग व्यवसायमा ऋण विस्तार गर्नेगरी राष्ट्र बैंकले वित्तीय नीति ल्याउनुपर्नेमा उनले जोड दिए । ‘आन्तरिक उत्पादन हुन नसक्दा व्यापार घाटा चालू आर्थिक वर्षमा छ खर्ब ९३ अर्ब रुपैयाँ पुगिसकेको छ’, उनले भने, ‘मुलुकको विद्यमान व्यापार घाटालाई कम गर्नका लागि कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी विस्तार हुने गरी वित्तीय नीति अवलम्बन गर्न आवश्यक छ ।’