काठमाडौं । एमजी (मोरिस ग्यारेज) मोटर्सको नेपालको लागि एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले ३० किलोवाट डीसी चार्जिङ स्टेसनहरूमा मर्मत सम्भार तथा सफ्टवेयर अपग्रेड गर्ने भएको छ । कम्पनीका अनुसार नेपालभर रहेका एमजीका ३० किलोवाटका चार्जिङ स्टेसनहरूमा सोमबारदेखि मर्मत र सफ्टवेयर अपग्रेड गर्न लागिएको हो ।
मर्मत कार्य तथा सफ्टवेयर अपग्रेड गर्न लागिएकाले केही समय आफ्नो सेवा अवरूद्ध रहने कम्पनीले जानकारी समेत गराएको छ । मर्मत, अपग्रेड र नयाँ सफ्टवेयर स्थापना गर्ने प्रक्रिया पूरा हुन १५ दिन लाग्ने बताइएको छ । यस समयमा सबै ३० किलोवाट डीसी चार्जिङ स्टेसनहरू अस्थायीरूपमा उपलब्ध हुने छैनन् । पारामाउन्ट मोटर्सले यो १५ दिनको अवधिमा वैकल्पिक चार्जिङ स्टेसनको प्रयोग गर्न अनुरोध गरेको छ । यो अन्तराल आगामी दिनमा सहज सेवाहरू प्रदान गर्नका लागि आवश्यक भएको र यसले ग्राहकहरूको एमजीसँगको अनुभवलाई अझ राम्रो बनाउने कम्पनीले दाबी गरेको छ ।