काठमाडौं । ‘हार्ड रक क्याफे’ र नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरको सहकार्यमा शनिबार बाल क्यान्सर सचेतना सत्र आयोजना गरिएकोे छ । अस्पतालले क्याफेमा बाल क्यान्सर सचेतना सत्र आयोजना गरेको हो ।
कार्यक्रम बाल्यकालमा हुने क्यान्सर, प्रारम्भिक पहिचान र उपचारको महत्वबारे जनचेतना जगाउने उद्देश्यले आयोजना गरिएको क्याफेले जनाएको छ । बाल चिकित्सक हेमाटोलोजिस्ट ओन्कोलोजिस्ट तथा बोन म्यारो प्रत्यारोपण विशेषज्ञ डा. अञ्जली पण्डितले बालबालिकामा हुने क्यान्सरबारे जानकारी गराएकी हुन् ।
विगत आठ वर्षदेखि क्यान्सरविरुद्धको उपचारमा सक्रिय डा. पण्डितले बाल क्यान्सरको गाम्भीर्यता र सचेतनाबारे प्रकाश पारेकी थिइन् । उनले बाल रोग हेमाटोलोजिक र ठोस ट्युमरहरूको सफलतापूर्वक उपचार गरिसकेकी छन् ।
बाल क्यान्सर सचेतनाजस्तो महत्वपूर्ण कार्यमा सहकार्य गर्न पाउँदा आफूहरू गौरवान्वित भएको हार्ड रक क्याफे काठमाडौंका सहायक महाप्रबन्धक नारायण सुवेदीले बताएका छन् । उनले यो सत्रले बाल्यकालमा क्यान्सरसँग लड्न सचेतना बढाउने विश्वास व्यक्त गरे ।