काठमाडौँ । नेपाली कांग्रेस पार्टीको महासमितिको बैठक सोमबारदेखि सनराइज सम्मेलन केन्द्र ललितपुरको गोदावरीमा सुरु हुँदैछ । गोदावरीस्थित सम्मेलन केन्द्रमा सभापति शेरबहादुर देउवाले दीप प्रज्वलन गरी महासमिति बैठक उदघाटन गरेका हुन् । महासमितिको बैठक सोमबारदेखि १० गतेसम्म चल्ने छ ।
महासमिति बैठकमा देशभरबाट दुई हजारभन्दा बढी महासमिति सदस्यको सहभागिता हुँदैछ । अन्य दलको भन्दा बढी सांसद र मन्त्री रहेको, आधाभन्दा बढी प्रदेशमा सरकार प्रमुख भएको र लगभग आधा स्थानीय सरकारमा प्रभुत्व जमाएको कांग्रेसको महासमिति बैठकलाई बढो चासोका साथ हेरिएको छ ।
बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच प्रतिवेदन पेस हुनेछन् । उपसभापति पूर्णबहादुर खड्काले नीति प्रतिवेदन, महामन्त्री गगन थापाले सांगठनिक प्रतिवेदन र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने छन् ।
झापाबाट शुक्रबार बैठकमा भाग लिन काठमाडौँ आएका महासमिति सदस्य अनिलकृष्ण प्रसाईँ समयअनुसार पार्टीलाई अगाडि बढाउन स्पष्ट नीति र कार्यक्रम आवश्यक रहेको बताउँछन् ।
ललितपुरको गोदावरीमा चार दिनसम्म चल्ने महासमितिलाई व्यवस्थित एवं प्रभावकारी ढङ्गले सञ्चालन गर्नका लागि पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा रहेको मूल आयोजक समितिले छुट्टाछुट्टै उपसमिति निर्माण गरी काम अगाडि बढाएको छ ।
यस्तै, केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराउन लागिएको छ ।
ओखलढुङ्गाका महासमिति सदस्य एवं पर्यटन व्यवसायी लिलाबल्लभ दाहाल ‘काका’ देशको अर्थतन्त्रलाई सबल र सक्षम बनाउने खालको अर्थनीति कांग्रेस महासमिति बैठकले लिनुपर्ने बताउँछन् । दाहालले करको दर बढाउनुभन्दा पनि करको दरलाई घटाएर दायरा बढाउनका लागि कांग्रेसले भूमिका खेल्नुपर्ने बताए । उनले देशभित्र डलर भित्र्याउन सकिने व्यवसायलाई कर नतिर्ने नीति कांग्रेसले लिएमात्र मुलुक समृद्ध बन्ने उल्लेख गरे ।
विपी कोइरालाको राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई कांग्रेसले छाड्दै गएको काठमाडौँ महासमिति सदस्य लोकेश ढकाल बताउँछन् ।