काठमाडौं । काठमाडौंको पुरानो र धेरै बचतकर्ता भएको कान्तिपुर सहकारीका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी सहकारी ठगी आरोपमा पक्राउ परेका छन् । सहकारीपीडितहरूको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत काठमाडौंले ठकुरीसहित छ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । ठकुरीलाई पक्राउ गरी अनुसन्धान थालिएको र अन्य केहीलाई पक्राउ गर्नको लागि खोजी भइरहेको प्रहरीले जनाएको छ । कान्तिपुर सहकारी संस्थाका सञ्चालकहरूले बचतकर्ता र सेयर सदस्यको साढे छ अर्ब रुपैयाँ दुरूपयोग गरेको पीडितहरूको आरोप छ । हालै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सो सहकारीलाई समस्याग्रस्त समेत घोषणा गरेको छ । सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य मान्यताविपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको भन्दै सहकारी विभागको सिफारिसमा मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको हो । माघ २९ गतेको सहकारी विभागको सिफारिसअनुसार फागुन ३ गतेको मन्त्रीस्तरीय निर्णयबाट सो सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको जनाइएको छ ।
बचकर्ताको रकम सहकारीका अध्यक्ष ठकुरीसहित पूर्वअध्यक्ष सीबी लामा तामाङ, प्रबन्ध सञ्चालक प्रेमध्वज तामाङ, सञ्चालकहरू जोगलाल लामा, सानुकान्छा लामा, नारायणप्रसाद रिमाल, इन्दु थापा र देवराज पराजुलीलगायतले दुरूपयोग गरेको पाइएको छ । उनीहरूले घरजग्गा, क्रसर उद्योग, निजी अस्पताल, कलेजलगायतका सहकारीको रकम दुरूपयोग गरी लगानी गरेका छन् ।