काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एक साताभित्र वडा नं ४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको जफत (सरकारी) भएको सम्पत्ति संरक्षण गर्ने भन्दै उक्त क्षेत्र खाली गर्न आग्रह गरेको छ ।
महानगरले उक्त जग्गा सरकारी भएकाले विशेष अदालतको फैसलासँगै सात दिनभित्र ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा सङ्घसंस्थाहरुलाई उक्त क्षेत्रबाट हट्न आग्रह गरेको हो । महानगरपालिकाका सहायक प्रवक्ता दीपक अधिकारीले सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रवन्ध गर्ने कार्यमा महानगरपालिकालाई सहयोग गर्न आग्रह समेत गरिएको जानकारी दिए ।
उनका अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद १३ स्थानीय तहको सम्पत्तिको संरक्षणसम्बन्धी व्यवस्थाअन्तर्गत दफा ९७ (१) ले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मतसम्भार तथा अन्य प्रबन्ध गर्नुपर्ने कानुनी दायित्व महानगरपालिकालाई तोकेकाले ललिता निवास खाली गराउन आग्रह गरिएको हो ।
यसैगरी, तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुनबमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने महानगरपालिकाले एक सार्वजनिक सूचना प्रकाशित गरी जनाएको छ ।