काठमाडौं । पोखरामा हट एयर बेलुन उडाउँदै आएको बेलुन नेपालले थाइल्याण्डमा सम्पन्न ‘इन्टरनेसनल बेलुन फियस्ता २०२४’ मा सहभागिता जनाएको छ । गत बुधबारदेखि थाइल्यान्डको सबैभन्दा चिसो सहर च्याङराईमा आयोजना भएको पाँच दिने सो फेस्टिभलमा कम्पनीका अध्यक्ष विक्रम बाडे र निर्देशक बीबी ढकाल सहभागी भएका हुन् ।
कार्यक्रममा २० व्यावसायिक तथा ६० वटा मिनीसहित ८० वटा बेलुन उडाइएको थियो । सो फेस्टिबलमा नेपालसहित १२ वटा मुलुकका बेलुन कम्पनीको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न बेलुनमा २० वटा मुलुकको राष्ट्रिय झण्डा फहराइएको थियो, जसमध्ये एउटा बेलुनमा नेपालको राष्ट्रिय झण्डा फहराइएको निर्देशक ढकालले जानकारी दिए । आइतबार समापन भएको कार्यक्रममा हरेक दिन विभिन्न किसिमका प्रतियोगितात्मक खेल आयोजना भएको थियो । कार्यक्रम अवधिमा खटिएका पाइलट र बलुन क्रुको सम्मानमा आइतबार साँझ बेलुन नेपालको संयोजनमा रात्री भोजसहित ‘नेपाली नाइट’ आयोजना गरिएको थियो । सो अवसरमा पाइलट र क्रूहरूलाई नेपाली ढाका टोपी र खादाले सम्मान गर्दै बुद्धको प्रतिमा उपहार दिइएको ढकालले बताए ।
मुलुकको प्रवद्र्धनका लागि यस्तो कार्यक्रम निकै राम्रो हुने रहेछ,’ ढकालले भने,‘नेपालमा बेलनु पनि छ भन्ने जानकारी दिन पाउनु खुशीको कुरा हो ।’ उनले कार्यक्रममा नेपालको लुम्बिनी र सिद्धार्थ गौतमबारे जानकारी दिएको समेत बताए । उनले नेपालमा पनि यस्तै किसिमका कार्यक्रम राखेर विभिन्न मुलुकका पर्यटकहरू सहभागी गराउने प्रशस्तै सम्भावना रहेको बताए । थाइल्याण्डको फ्लाइङ मिडियाले आयोजना गरेको यस कार्यक्रममा स्थानीय सांस्कृतिक प्रस्तुति समेत समावेश थियो ।