काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले क्यानडामा निर्यात प्रवर्द्धनका लागि पहल गर्न नवनियुक्त राजदूत भरतराज पौड्यालसँग आग्रह गरेको छ । क्यानडाका लागि नवनियुक्त राजदूत पौड्यालसँग जमलस्थित चेम्बर भवनमा बिहीबार भएको भेटमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले मुलुकको निर्यात प्रवर्द्धन हुनेगरी सहजीकरण गर्न आग्रह गरे ।
‘नेपाली वस्तुहरूको निर्यातका लागि क्यानडा राम्रो बजार हुन सक्छ’, उनले भने, ‘खासगरी गरगहना, पस्मिना, कार्पेट, छुर्पी, घिउलगायतका वस्तुहरूको निर्यात सहजीकरण गर्न सकियो भने विद्यमान व्यापार घाटालाई केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ ।’ नेपालबाट निर्यात हुने वस्तुहरूको एकीकृत बिक्रीका लागि नेपाल हाउसको अवधारणामा जानुपर्ने अध्यक्ष मल्लले बताए । नेपाल र क्यानडाबीच सिधा व्यापारिकसम्बन्ध कायम हुनेगरी व्यावसायिक वातावरण बनाउनुपर्नेमा समेत उनले जोड दिए । यसका लागि सरकारी तवरबाटै पहल हुनुपर्ने उनको भनाइ थियो ।
क्यानडामा पछिल्लो समय नेपाली विद्यार्थीको संख्या उच्च रहेको भन्दै अध्यक्ष मल्लले पढ्दै कमाउँदै नीति राज्यका लागि फलदायी हुनुपर्ने बताए । क्यानडामा रहेका एक नेपालीमार्फत एक पर्यटक भित्र्याउने गरी पहल गर्न सकिए नेपालको पर्यटन क्षेत्रमा लाभ पुग्ने उनले बताए । यस्तै, क्यानडाका निजी क्षेत्रको लगानी भित्र्याउनका लागि समेत भूमिका निर्वाह गर्न उनले आग्रह गरे । उनले भने, ‘नेपालले आगामी वैशाखमा अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आयोजना गर्दैछ, नेपालको पूर्वाधार क्षेत्र, पर्यटन, ऊर्जा एवम् सूचना प्रविधिको क्षेत्रका मुख्य–मुख्य आयोजनाहरूमा लगानीका लागि पहल गर्न आवश्यक छ ।’