काठमाडौं, जेठ २०
अमेरिकामा रहेका नेपालीहरुको एक समूहले स्थापना गरेको सामाजिक इ–कमर्स स्टार्ट अप कम्पनी सगुनले विश्वभरबाट लगानी जुटाउन अर्को चरणको सेयर निष्काशन गरेको छ । सगुनमा विश्वभरबाट ५६ लाखभन्दा बढी प्रयोगकर्ता जोडिएका छन् । अमेरिकी सेयर बजार नियामक धितोपत्र विनिमय आयोग (एसईसी)ले केही समय अघि सगुनको विवरणपत्रलाई विक्रियोग्य तोकेको थियो । सगुनले यस चरणमा ‘ग’ श्रेणीको साधारण सेयर प्रतिकित्ता ३० डलरका दरले ३ लाख कित्ता सर्बसाधारणलाई बिक्री गर्नेछ ।
सगुनको सेयरमा विश्वभर रहेका सर्वसाधारणले कम्तीमा ३० कित्ता सेयर (९ सय डलरको) खरिद गर्न सक्नेछन् । कम्पनीले उक्त सेयर सीमित समयका लागि पहिले आवेदन गर्नेले किन्न पाउने गरी निष्काशन गरेको हो । सगुनले सन् २०१७ मा यसको पहिलो ‘रेज ए प्लस’ मिनी आइपिओ प्रतिकित्ता २३ डलरका दरले निष्काशन गरेको थियो । त्यतिखेर सगुनको सेयरमा विश्वभरबाट ४ हजारभन्दा बढी लगानीकर्ताले ४६ लाख डलर लगानी गरेका थिए ।
पहिलो चरणमा लगानी जुटाएपछि सगुनले निकै फड्को मारेको छ । यसले मोवाइलको एन्ड्रोइड प्लेटफर्ममा सगुन लाइट, एप्पलको आइओएस प्लेटफर्म र एन्ड्रौइडमा सोसियल स्मार्ट कार्ड तथा वेब ब्राउजरहरुका लागि वेव एप्लिकेसन सार्वजनिक गरेको छ । सगुनका संस्थापक गोविन्द गिरीले नेपाल र भारतका प्रयोगकर्ताले सगुनलाई अझ धेरै मन पराएको बताए । उनले यी दुई मुलकका प्रयोगकर्ताले दिनमा २३ पटकभन्दा बढी सगुन खोल्ने गरेको जानकारी दिए । सगुनले अमेरिकी सेयर बजारमा लगानी प्रक्रियाको सहजीकरण र नियमनका लागि फण्ड अमेरिका र प्राइम ट्रस्टसँग साझेदारी गरेको छ ।
सगुनले अहिलेको सार्वजनिक निस्कासनमा सर्वसाधारण र संस्थागत लगानीकर्ताहरूबाट लगानी स्वीकार गर्नेछ । यसपटक सर्वसाधारणले गरेको लगानीबाट जम्मा भएको रकमले प्रयोगकर्ताको अधार वृद्धि गर्न, प्लेटफर्म विस्तार गर्न र सगुनका नयाँ एप, सुविधा र विशेषताहरू थप गर्न खर्च गर्ने कम्पनीले जनाएको छ । सगुनको सेयर खरिद गर्न इच्छुक व्यक्तिले सगुन डट कम/इन्भेस्टमा गएर वा सगुन एपमा रहेको मिनि आईपीओ ट्याब छानेर लगानी गर्न आवेदन गर्न सक्नेछन् ।