काठमाडौं । जिल्लाको मेहलकुना नगरपालिकामा चार सय जनाको आँखामा मोतियाबिन्दुको समस्या देखिएको छ । नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र मेहलकुना र मेहलकुना नगरपालिकाको सहकार्यमा आयोजना गरिएको आँखा शिविरमा सो संख्यामा मोतियाबिन्दुका बिरामी भेटिएका हुन् ।
सो शिविर आँखा परीक्षण गर्दा मोतियाबिन्दुको समस्या देखिएकामध्ये तीन सय एक जनाको निःशुल्क शल्यक्रिया समेत गरिएको थियो । नगरपालिकाको वडास्तरमै गएर आँखा परीक्षण गर्दा १४ प्रतिशतमा मोतियाबिन्दुको समस्या देखिएको हो । जम्मा दुई हजार आठ सय ४० जना व्यक्तिको आँखा परीक्षण गर्दा चार जनामा मोतियाबिन्दुको समस्या देखिएको थियो । वडास्तरमै गएर आँखा परिक्षण गरी मोतिबिन्दु भएको र त्यसको शल्यक्रिया समेत निःशुल्क हुन्छ भन्ने जानकारी गराँउदा समेत करिब १०० जना बिरामीहरू शल्यक्रियाका लागि नआएको नेपाल नेत्रज्योति संघ एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णालीका प्रमुख मान बहादुर कुँवरले बताए ।
‘कर्णाली प्रदेशको सुगम क्षेत्रमा पनि मोतिबिन्दुको समस्या यस्तो छ, यहाँबाट जम्मा एक घण्टामा अस्पताल पुग्न सकिन्छ तर पनि वहाँहरू उपचार गराउन जानु भएन’ कुँवरले भने ‘वहाँहरूलाई मेरो आँखामा रोग लागेको छ उपचार गरे निको हुन्छ भन्ने ज्ञान नै छैन, अहिले हाम्रो प्रमुख चुनौति नै यहीँ, यहा यहाँका मानिसहरूलाई आँखा उपचारको आवश्यकता महशुस नै छैन ।’ सुर्खेत जस्तो सुगम जिल्लाको एउटै पालिकामा समेत ४ सय जनामा मोतिबिन्दुको समस्या देखिनु सामान्य नभएको नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्रले बताए । ‘यसबाट अहिले पनि नागरिकहरूलाई आँखा उपचारको आवश्यकता महशुस नै भएको छैन भन्ने देखिन्छ । त्यसैले अब हामीले नागरिकहरूमा आँखा स्वास्थ्य सम्बन्धी जनचेतना अभिबृद्धि गर्न जरुरी छ’, मिश्रले भने ।
राप्ती आँखा अस्पतालको नेत्ररोग विशेषज्ञ डा.शुरेश रसाईलीको नेतृत्वको स्वास्थ्यकर्मीहरूको टोलीले बिरामीहरूको निःशुल्क शल्यक्रिया गरेको थियो । नेपाल नेत्रज्योति संघ एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णालीको आर्थिक सहयोग तथा राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा मोतिबिन्दुका बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिएको हो । सिबिएम ग्लोबलको आर्थिक सहयोगमा कर्णाली प्रदेशमा संचालित एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम मार्फत हालसम्म प्रदेशका ६ हजार भन्दा बढि आँखाका बिरामीहरूको निःशुल्क शल्यक्रिया गरि सकिएको कुँवरले बताए । सो शिविर गत माघ १७ गते देखि फागुन १ गतेसम्म वडास्तरमा संचालन गरिएको थियो ।