महेन्द्र शाही
सोलुखुम्बु, जेठ २०
विश्वको सर्बोच्च शिखर सगरमाथा क्षेत्र जोड्ने सडकको नाम खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाको नामबाट नामाङकरण गरिने भएको छ ।
आइतबार बसेको गाउँ कार्यपालिका बैठकले गाउँपालिकाको वडा नम्बर १ खरिखोलादेखि गाउँपालिका केन्द्र चौरिखर्कसम्मको निर्माणाधिन सडकको नाम ‘ङिमदोर्जीे शेर्पा पर्यटन सडक’ नामांकन गर्ने निर्णय गरेको हो । यो सडक निर्माणको कार्य अहिले पनि जारी रहेको छ । सगरमाथा क्षेत्रको पर्यटनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको करिब ५० किलो मिटरको यो सडकको नामांकन गाउँपालिका अध्यक्षको नाममा गर्ने निर्णय गरिएको प्रवक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिए । यो सडकखण्ड निर्माणका लागि पालिका अध्यक्षले महत्वपूर्ण भूमिका खेलेका कारण यस्तो निर्णय गरेको प्रबक्ता शेर्पाको भनाई छ ।
सगरमाथा क्षेत्र जोड्ने दुधकोशी कायाघाटको मोटरेबल पुल, गाउँपालिका केन्द्र जोड्ने सडक लगायत खुम्बुको विकासमा अध्यक्ष शेर्पाले खेलेको भूमिकाको उच्च कदर गर्दै अध्यक्षकै नाममा सडकको नामांकन गर्ने निर्णय भएको प्रवक्ता शेर्पाले बताए । गाउँपालिका अध्यक्ष शेर्पाको अवस्थ अहिले नाजुक रहेको छ । अध्यक्ष शेर्पा अहिले पेटकको क्यान्सरसँग जुधिरहेका छन । उनको स्वास्थ्य अवस्था दिन प्रतिदिन खस्कदै गएको पारिवारिक स्रोतले जनाएको छ । उनको तौल नपुगेका कारण अप्रेसन हुन नसकेको बताइएको छ । उनलाई विदेशमा समेत गएर उपचार गराएको भए पनि स्वास्थ्यमा उल्लेख्य सुधार हुन सकेको छैन ।