कीएभ, युक्रेन । शनिबार रूसले युक्रेनमाथि आक्रमण गरेको दुई वर्ष पूरा भएको छ । पश्चिमा सहायताको अभावका कारण यो वर्ष युक्रेन कमजोर देखिएको छ भने रूस नयाँ लाभबाट उत्साहित भएको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २४, २०२२ को विहानै ‘विशेष सैन्य अभियान’को घोषणा गर्दा धेरैले केही दिनभित्रै मस्कोले युक्रेनविरूद्ध विजय गर्ने अनुमान गरेका थिए । तर, युक्रेनले अहिलेसम्म रूसी आक्रमणको प्रतिकार गर्दै कतिपय स्थानबाट रूसी सेनालाई पछाडि हट्न बाध्य बनाएको छ ।
तर, युक्रेनले सन् २०२३ को प्रत्याक्रमण अनपेक्षित असफल भएपछि धक्का खाएको छ । यो उसलाई आफ्ना सहयोगीले युद्धका लागि प्रतिबद्धता गरेअनुसारको हतियार र आर्थिक सहयोगको अभावका कारण भएको रूस–युक्रेन युद्धबारे नजिकबाट जानकारी राख्ने विश्लेषकहरूले बताएका छन् ।
रूसी सेनाले युद्ध उत्पादनको वृद्धिका कारण शक्तिको स्थिति निर्माण गरेको छ, जब कि युक्रेनका सैनिकहरूसँग जनशक्तिको कमी छ र तोपखाना र हवाई प्रतिरक्षाको लागि पश्चिमी–आपूर्ति गरिएको गोलाबारूदको यथेष्ट आपूर्ति नहुँदा सुस्त गतिमा रक्षात्मक लडाइँ लडिरहेको छ ।
युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले हतियार आपूर्तिसम्बन्धी निर्णय ‘प्राथमिकता’ हुनुपर्ने बताएका छन् ।
युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनलगायत पश्चिमा नेताहरूले युक्रेनको ‘असाधारण प्रतिरोध’को प्रशंसा गर्दै शनिबार कीएभ आइपुगेका छन् । तर, अमेरिकी कंग्र्रेसले ६० अर्ब अमेरिकी डलरको सहायता कार्यक्रम रोकेपछि युक्रेनका लागि समग्र तस्बिर अन्धकारमय बनेको छ । यो प्रतिज्ञा गरिएको सहयोगको आपूर्तिको ढिलाइको शीर्षस्थानमा आएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले रिपब्लिकन सांसदहरूलाई थप अनुदान नरोक्न पुनः आह्वान गर्दै ‘इतिहासले पर्खिरहेको’ र ‘यस महत्वपूर्ण घडीमा युक्रेनलाई समर्थन गर्न असफल भएको दिन’ नबिर्सिइने दोहोराएका छन् । रासस