काठमाडौं, जेठ २०
कुमारी बैंक लिमिटेडले विशेष साधारणसभा सम्पन्न गरेको छ । सञ्चालक समितिका अध्यक्ष आमिरप्रताप राणाको अध्यक्षतामा बैंकले सोमबार वार्षिक साधारणसभा सम्पन्न गरेको हो । बैंकको नक्साल प्राङ्गणमा विशेष साधारणसभा सम्पन्न भएको छ । सो साधारण सभामा कुमारी बैंक लिमिटेडद्वारा साविकको देवः विकास बैंकको प्राप्तिको प्रस्ताव पारित गरेको छ ।
कुमारी बैंकका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापन अधिकारीहरूका माझ एक समारोहबीच साविकको देवः विकास बैंक लिमिटेडको प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरूको अनुमोदन सम्पन्न भएको छ । उक्त प्राप्तिपश्चात् बैंकको चुक्ता पुँजी १२ अर्ब ५० करोड रूपैयाँभन्दा बढी हुनेछ । साथै, निक्षेप एक खर्ब २० अर्ब तथा कर्जा लगानी एक खर्ब पाँच अर्ब र शाखा सञ्जाल भने दुुई सय नौ हुनेछ । यस विशेषसाधारण सभामार्फत प्राप्तिपश्चात् कुमारी बैंकको प्रतिकित्ता सेयर बराबर देवः विकास बैंकको शून्य दशमलव ८६ कित्ता सेयर अनुपातमा सेयर मूल्य कायम हुने गरी स्वाप रेसियो स्वीकृत भएको छ ।
कोभिड–१९ काकारण पर्नसक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू सबै अवलम्बन गरी बैंकले नवीन शैली प्रयोगमा ल्याउँदै डिजिटल प्लाटफर्म जुममार्फत सेयरधनीहरूको मन्तव्य, सुझाव लिएको थियो । यो विषम परिस्थितिमा डिजिटल प्लाटफमर्मा उल्लेखनीय सहभागिताका लागि सेयरधनीहरूलाई सम्पूर्ण बैंकको सञ्चालक समितिका सम्पूर्ण सदस्यहरूले धन्यवाद व्यक्त गरे ।
बैंकको आन्तरिक वित्तीय, मानव स्रोत, प्राविधिक एवं अन्यक्षमता अभिवृिद्ध हुनुका साथै राष्ट्रिय बैंकिङ तथा वित्तीय प्रणालीको संवद्र्धन भई सोप्रति सर्वसाधारणको विश्वसनीयतामा अभिवृिद्ध पुग्नेमा बैंक विश्वस्त छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब एक करोड २७ लाख १३ हजार सात सय ४८ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ३२ लाख ८९ हजार एक सय ४८ रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी नौ अर्ब ५५ करोड ४१ लाख ३० हजार चार सय ४० रूपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ८५ अर्ब ५० करोड ६७ लाख नौ हजार नौ सय ९७ रूपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब ७० करोड ५० लाख १४ हजार पाँच सय ७० रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई अर्ब ७५ करोड २६ लाख ८४ हजार चार सय २६ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ७३ अर्ब २० करोड ११ लाख ४३ हजार सात सय ६६ रूपैयाँ निक्षेप संकलन गरी ७३ अर्ब एक करोड ७९ लाख १३ हजार ५२ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई अर्ब २३ करोड ३० लाख ६४ हजार रूपैयाँ खुुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ४१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
देवः विकास बैंकको १३औं वार्षिक साधारणसभा : देवः विकास बैंकले १३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले सोमबार सञ्चालक समितिका अध्यक्ष उपरथी बज्र गुरुङ (अप्रा)को सभापतित्वमा काठमाडौँमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । बैंकका अनुसार कोभिड १९ को महामारीको अवस्थालाई मध्यनजर गरी बैंकको साधारण सभामा सम्पूर्ण आवश्यक प्रक्रिया पूरा गरी बैंकका सेयरधनीहरू अनलाइनमार्फत भरच्यूअली सभामा सहभागी भएका थिए भने सहभागी सेयरधनी महानुभावहरूले आ–आफ्नो मन्तव्य अनलाइनमार्फत नै व्यक्त गरेका थिए ।
सभामा सामान्य प्रस्तावअन्तर्गत देवः विकास बैंकको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बाह्य लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७५/७६ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिसम्मको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायत आर्थिक विवरणहरू समेत सर्वसहमतिबाट पारित गरिएको बैंकले जनाएको छ ।
यसैगरी विशेष प्रस्तावअन्तर्गत सभाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आव २०७५/७६ को वितरणयोग्य नाफाबाट चुक्ता पुँजीको आठ दशमलव ५५ प्रतिशत अर्थात् २७ करोड १६ लाख ४२ हजार एक सय २९ रूपैयाँ २९ पैसा बराबर बोनस सेयर प्रदान गर्ने प्रस्ताव समेत पारित गरिएको समेत बैकले जानकारी दिएको छ । बिशेष प्रस्तावअन्तर्गत देवःलाई कुमारी बैंकले प्राप्ति गर्ने र सो प्रयोजनका लागि सम्पत्ति दायित्व मूल्यांकन प्रतिवेदन समेतका आधारमा देवको एक कित्ता सेयर बराबर कुमारी बैंकको शून्य दशमलव ८६ कित्ता सेयर दिने गरी सेयर आदान प्रदान अनुपात कायम गर्ने प्रस्ताव लगायत प्राप्तिसँग सम्बन्धित स्वीकृतीका लागि पेश गरिएको प्रस्ताव सर्वसम्मतिबाट पारित गरिएको बैंकले जानकारी दिएको छ ।