काठमाडौँ । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।
मंगलबार नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा(प्रतिष्ठान पुगी आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री दाहालले उनको योगदान मुलुकका लागि महत्वपूर्ण रहेको स्मरण गरे । उनले स्व. आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए । भजन शिरोमणि उपाधि पाएका उनको सोमबार ८२ वर्षको उमेरमा निधन भएको थियो । आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो ।
आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत(सङ्गीत क्षेत्रमै छन् । विसं १९९९ मा धनकुटामा जन्मिएका आचार्यले चार सयभन्दा बढी गीतमा स्वर तथा सङ्गीत दिएका छन् । नेपाली सुगम सङ्गीतमा उनको महत्वपूर्ण योगदान छ । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।