काठमाडौं । ज्योति विकास बैंकले सिराहास्थित एक विद्यालयलाई डेस्क बेञ्चहरू प्रदान गरेको छ । बैंकले गोलबजार वडा नं. १० धर्मपुरस्थित श्री आधारभूत विद्यालयलाई सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत् २५ थान डेस्क बेञ्चहरू प्रदान गरेको हो । बैंकले विद्यालयमा अध्यनरत विद्यार्थीहरूको सिकाइ वातावरण अभिवृद्धि तथा समग्र शैक्षिक अनुभवमा सुधार ल्याउने उद्देश्यका साथ उक्त सहयोग उपलब्ध गराएको जनाएको छ ।
विद्यालयमा आयोजित एक कार्यक्रममा बैंकका तर्फबाट गोलबजार शाखाका शाखा प्रबन्धक भुवन धमलाले गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठ, गोलबजार वडा नं. १० का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र मुखियाको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक मधुराम महतोलाई उक्त डेस्क बेञ्चहरू हस्तान्तरण गरेका थिए । कार्यक्रममा बैंकका कर्मचारी, शिक्षा क्षेत्रका स्थानीय पदाधिकारी, पूर्व वडाध्यक्षहरूलगायत विद्यालयका कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठले शिक्षामा गुणस्तरीय पूर्वाधारको महत्वमा जोड दिँदै सकारात्मक र समृद्ध शैक्षिक वातावरण निर्माणमा बैंकको सहयोग अत्यन्त सह्रानीय भएको बताए । साथै, विद्यालयका अध्यक्ष तथा प्रधानाध्यापकले डेस्क बेञ्चहरूको व्यवस्था भएसँगै कतिपय विद्यार्थीहरूलाई भुइँमा बसी अध्ययन गर्नुपर्ने बाध्यताको अन्त्य भएको बताएका थिए ।