विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले हाल ‘मिसन–८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको बताएका छन् । ‘मिसन ८४’ अर्थात् विसं २०८४ मा हुने निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ एमाले अघि बढेको उनको भनाइ थियो ।
अध्यक्ष ओलीले वर्तमान गठबन्धन सरकारले सरकार टिकाउने काममा मात्र लागेको आरोप लगाउँदै नेपाली कांग्रेस ठूलो पार्टी भएर पनि मुलुकको विकासमा समयानुकूल अघि बढ्न नसकेको बताए । उनले प्राकृतिक सम्पदाले भरिपूर्ण हाम्रो मुलुकमा यथोचित विकास नहुनु दुःखद भएको भन्दै सरकार मुलुकको विकास र सुशासनमा जनताको मागअनुसार अघि बढ्न नसकेको बताए ।
अध्यक्ष ओलीले भ्रष्टाचारको आरोप लागेका सरकारी ओहोदामा रहेकाहरुले राजीनामा दिएर सत्यतथ्य छानबिन गर्नका लागि सहयोग गर्नुपर्नेमा जोड दिदै एमाले सत्य निरुपण तथा मेलामिलाप विधेयक पारित गर्ने पक्षमा रहेको पनि स्पष्ट पारे ।