काठमाडौं । एनसेलले आफूसँग आबद्ध रहेका खुद्रा विक्रेता, साना पसल गर्ने व्यवसायीहरूलाई सहयोग गर्ने उद्देश्यले नयाँ कार्यक्रम सञ्चालन गरेको घोषणा गरेको छ । आफ्नो च्यानल इकोसिस्टमको प्रत्येक तहलाई सशक्त बनाउने प्रतिबद्धता अनुरूप एनसेलले देशभरका खुद्रा विक्रेताहरूलाई प्रोत्साहन र पुरस्कृत गर्न एक बृहत् रिटेल इन्गेजमेन्ट प्रोग्राम लागू गरेको छ ।
यो कार्यक्रम देशभर रहेका ५० हजार बढि खुद्रा विक्रेताहरूलाई लक्षित रहेको छ । कार्यक्रममा सहभागी हुने खुद्रा विक्रेताहरूले सिम कार्ड र प्याकहरूको बिक्रीबापत निश्चित प्वाइन्ट आर्जन गर्ने अवसर पाउँछन् । यसरी आर्जन गरिएको प्वाइन्टहरूको आधारमा उनीहरूले टेलिभिजन, स्मार्टफोन, स्मार्टवाच, पावर बैंक र ब्लुटुथ स्पिकरसहित विभिन्न आकर्षक उपहारहरू पाउन सक्छन् । खुद्रा विक्रेता तथा साना पसल गर्ने व्यवसायीहरूले एनसेल पसल एपमार्फत एनसेलका सेवाहरू बिक्री गर्न सक्छन् । एपमार्फत सिम र प्याकहरू बेच्ने खुद्रा बिक्रेताहरूले थप प्रोत्साहन पाउनका लागि हकदार हुन्छन् । कार्यक्रमअन्तर्गत, राम्रो कार्य गर्ने एक हजारभन्दा बढी उत्कृष्ट खुद्रा विक्रेताहरूले विशेष उपहार वस्तुहरू प्राप्त गर्ने कम्पनीले जनाएको छ । यसमा एक जना सहभागी खुद्रा विक्रेताले कार्यक्रमको अन्त्यमा एक बाइक जित्नेछन् ।
कार्यक्रममा पाँच सयभन्दा बढी फिल्ड फोर्स टोली सदस्यहरू संलग्न हुनेछन् । प्रत्येक महिना एक सय ५० भन्दा बढी सदस्यहरूलाई उनीहरूको उत्कृष्ट कार्यका लागि प्रोत्साहन स्वरूप विभिन्न उपहारहरू प्रदान गरिने कम्पनीले जनाएको छ ।