मदनराज भट्ट
डडेल्धुरा, जेठ २१
डडेल्धुरामा निर्माण गरिएका क्वारेन्टाइनहरूमा भौतिक पूर्वाधार, खानेपानी, शौचालयको राम्रो व्यवस्था नहुँदा क्वारेन्टाइनमा बस्ने मान्छेहरू समस्यामा परेका छन् । साथै क्वारेन्टाइनमा सामाजिक दूरीको पनि सामान्य ख्याल गरिएको छैन । जिल्लाको अमरगढी नगरपालिकामा अहिले सामुदायिक विद्यालय, निजी विद्यालय, रेडक्रस भवन, सामुदायिक भवनहरू गरेर जम्मा एक सय २४ स्थानलाई कोरोना रोकथामका लागि क्वारेन्टाइन बनाइएको छ ।
भारतका विभिन्न सहरहरूबाट नेपाल फर्किएर नेपालीहरूलाई उक्त क्वारेन्टाइनमा राखिएको छ । तर, उक्त ठाउँमा बनाइएको क्वारेन्टाइन समेत बस्नका लागि उचित छैनन् । शौचालय, खानेपानीलगायत अत्यावश्यक कुराको व्यवस्थापन नहुँदा क्वारेन्टाइनको रूपमा प्रयोग भएका विद्यालयहरू नाम मात्रका रहेछन् भन्ने प्रमाणित भएको छ । सुदूरपश्चिमका अन्य जिल्लाहरूको अवस्था पनि झन विकराल नै रहेको छ । भारतका विभिन्न सहरहरूबाट डडेल्धुरामा मात्रै एक सय २४ वटा क्वारेन्टाइनमा तीन हजार आठ सय ११ जना रहेका छन् । क्वारेन्टाइनको नाममा विद्यालयभित्र भेडाबाख्राझैँ हुलेर राखिएको क्वारेन्टाइनमा बस्नेहरूको गुनासो छ ।
उनीहरूका आधारभूत आवश्यकताप्रति स्थानीय सरकार पनि बेखबरजस्तै छ । डडेल्धुरा जिल्लालाई भारतबाट नेपाल आउने नागरिकहरूलाई ओसार्ने र पठाउने ट्रान्जिट प्वाइन्ट बनाइएको भए पनि यहाँ निमार्ण गरिएको क्वारेन्टाइनमा विश्व स्वस्थ्य संगठनको न्यूनतम मापदण्ड समेत पूरा गरिएको छैन । ‘न व्यवस्थित पानी छ न शौचालय, जथाभावी फोहरको डंगुर छ । शौचकक्ष कम भएकाले लाइन लाग्नुपर्छ त्यतिबेलासम्म त दुर्गन्धले नै बिरामी पार्छ कि भन्ने चिन्ता लागिरहन्छ’, क्वारेन्टाइनमा बसेका एक युवाले भने । साथै भारतका विभिन्न स्थानबाट अनेकौं दुःखकष्ट झेल्दै घरनजिक पुगेर जिल्लाको क्वारेन्टाइनमा बस्न पाउँदा हर्षित भएका उनीहरू आफ्ना छोराछोरीले पढ्ने विद्यालयको अवस्था देख्दा झन् दुःखी भएका छन् ।