काठमाडौं । नेपालको बाह्य सम्बन्ध एक सय ८२ देशमा विस्तार भएको छ । पछिल्लो समयमा टोङ्गा अधिराज्यसँग कूटनीतिक सम्बन्ध स्थापना भएसँगै एक सय ८२ पुगेको हो ।
कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी दस्ताबेजमा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र सोही विश्व संस्थाका निम्ति टोङ्गाका स्थायी प्रतिनिधि भिलिमी भ्याइङ्गा टोनेले हस्ताक्षर गरेका छन् । नेपाल र टोङ्गाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसलाई प्रदान गरिने पत्रमा पनि उनीहरुले हस्ताक्षर गरेका हुन् । टोङ्गाले १४ सेप्टेम्बर १९९९ मा संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेको हो । नेपाल र टोङ्गा ग्रुप ७७ र चीनका सदस्य हुन् । रासस