काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, नाम सुन्दा जो–कोहीलाई पनि लाग्न सक्छ, यो संस्था गरिब र विपन्न वर्गहरूको आर्थिक उत्थानको लागि काम गर्ने संस्था हो । यसले देशका विभिन्न क्षेत्रमा कमजोर आर्थिक अवस्था भएका जनताहरूलाई सहुलियतरूपमा ऋण उपलब्ध गराएर उद्यमशील बनाई उनीहरूको आर्थिक अवस्थामा सुधार ल्याउनेछ । तर, व्यवहारमा भने यस्तो नभएको उक्त संस्थाद्वारा ऋण लिएका ग्राहकहरूले आरोप लगाएका छन् । ती ग्राहकहरूका अनुसार निर्धनको नाममा अहिले धनीमानीहरूको रजगज भएको छ ।
ग्राहकहरू भन्छन्, ‘पहिला ऋण लिन उक्साइयो, विभिन्न किसिमका आर्थिक उपार्जनको नाममा व्यावसायिक प्रलोभन देखाएर फकाएर ऋण दिलाइयो । अहिले अप्ठ्यारोमा पारेर घरबास नै उठाउन खोज्दै छ । संस्थाले ऋणी ग्राहकहरूको घरबास उठाउने खोजेको कुरालाई संस्थाले विभिन्न माध्यमद्वारा एकै दिन ऋणीहरूको नाममा कर्जा चुक्ता गर्न आउन र धितो लिलामीको लागि सार्वजनिक गरेको सूचनाले पनि पुष्टि हुन्छ । पछिल्लो केही महिनादेखि संस्थाले लगातार दैनिकजसो सयभन्दा बढी ग्राहकहरूको नाममा सार्वजनिक सूचना जारी गर्दै आएको छ । कात्तिक २१ गते एकै पटक तीन सय २२ जना ऋणीको नाममा सार्वजनिक सूचना जारी गरेको संस्थाले मंंसिर एक गते एक सय आठ जना ऋणीको नाम सार्वजनिक गरेको छ भने मंसिर १२ गते पुन: एक सय १० जना ऋणीको नाम सार्वजनिक गरेको छ । संस्थाले मंसिर १७ गते एक सय ११ जना, मंसिर २८ गते एक सय १३ जना, पुस १९ गते एक सय १२ जना, पुस २० गते एक सय १२ जना, पुस २२ गते एक सय १२ जना, पुस २४ गते एक सय १२ जना, पुस २६ गते एक सय १४ जना, पुस २९ गते एक सय १२ जना ऋणीको नाम सार्वजनिक गरेको छ । यसैगरी संस्थाले माघ १७ गते एक सय १२ जना ऋणीको नाम सार्वजनिक गरेको छ भने फागुन १४ गते एक सय १२ जना ऋणीको नाम सार्वजनिक गरेको छ । ऋणीको नाममा ऋण चुक्ता र धितो लिलामीको लागि संस्थाले सार्वजनिक गर्नै सूचनाको शृङ्खला अझै जारी रहेको छ ।
संस्थाले ऋणीको नाममा यसरी सार्वजनिक सूचना जारी गर्दै घरबासविहीन बनाउन खोज्नुको पछाडि संस्थाले झण्डै दुई वर्षअघिसम्म पनि दैनिकजसो सञ्चालन गर्नै विभिन्न सीपमूलक कार्यक्रम र विपन्न वर्गका जनताहरूलाई नाममात्रको सीपमूलक तालिम दिएर ऋण लिन बाध्य पारिनु प्रमुख कारण रहेको उक्त संस्थाका ऋणीहरू बताउँछन् । ‘संस्थाले केही वर्षअघिसम्म पनि हामीजस्ता विपन्न वर्गका जनताहरूको उत्थानको लागि भन्दै नाममात्रको सीपमूलक तालिम दियो । केही साथीहरूलाई व्यावसायिक च्याउखेती तालिम दियो भने केही साथीहरूलाई सिलाइबुनाइ, मैनबत्ती बनाउने, धुप बनाउने, उन्नत जातको गाईबाख्रा पालना, व्यावसायिक तरकारी तथा फलफूल खेतीलगायतका नाममात्रका सीपमूलक तालिम दिइयो । न हामीमा बजारको पहुँच थियो, न कुनै व्यावसायिक ज्ञान नै । संस्थाले देखाएको प्रलोभनकै आधारमा हामीले ऋण लियौँ र जसतसो व्यवसाय चलायौँ, तर व्यवसाय संस्थाले फकाएजस्तो गरी चलेन । उक्त संस्थाले लिने चर्को ब्याजले हामी थलियौँ । अहिले संस्थाले हाम्रो घरबास उठाउन खोज्दै छ, हामीजस्ता हुँदाखाने वर्गहरूको नाममा ऋण चुक्ता गर्न र भएको जायजेथा पनि लिलाम गर्न भन्दै दैनिकजसो सयौँको संख्यामा सार्वजनिक सूचनाहरू जारी गरिरहेको छ । न्याय खोज्न हामी कहाँ जाऊँ ?’ नाम उल्लेख नगर्ने सर्तमा उक्त संस्थाका केही ग्राहकहरू भन्छन् । संस्थामार्फत पीडित बनाइएका भनिएका ग्राहकहरूको बारेमा जानकारी माग गर्न संस्थाका सूचना अधिकारी जग्यप्रसाद पन्तसँग सम्पर्क गर्न खोज्दा उनको फोन उठेन । एक अर्को प्रसङ्गमा भने आर्थिक दैनिकका प्रतिनिधिसँग सूचना अधिकारी पन्तले पछिल्लो समय संस्थामा खराब कर्जा बढेको बताएका छन् ।
