सोलुखुम्बु, जेठ २१
सगरमाथा क्षेत्रलाई सदरमुकामसँग सिधा सडकले सञ्जाले जोड्ने माप्य–खुम्बु मितेरी ट्रष्ट ब्रिज निर्माणकार्य सम्पन्न भएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका र माप्यदूधकोशी गाउँपालिकाको सिमानामा निर्माणाधीन मोटरेबल पुलको काम सम्पन्न भएको हो । पुल निर्माण हुन केही समय ढिलो भए पनि निर्माण सम्पन्न हुनु खुसीको कुरा भएको माप्यदूधकोशी गाउँपालिकाका प्रवक्ता तेज बहादुर मगरले बताए । पुल निर्माणको काम पूर्ण रुपमा सकिएको उनको भनाइ छ । यो पुलको निर्माणकार्य वैशाखमा सक्ने लक्ष्य लिए पनि कोरोनाका कारण निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीको भनाइ छ ।
माप्यदूधकोशी, खुम्बु पासाङ ल्हामु गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारको संयुक्त लगानीमा निर्माण भएको यो मितेरी टष्ट्र ब्रिजको उद्घाटन असार १५ गते गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । सगरमाथा क्षेत्रलाई सिधा सडक सञ्जालले जोड्ने लक्ष्यका साथ निर्माण गरिएको मितेरी ट्रष्ट ब्रिजको शिलान्यास गत मंसिर १३ गते गरिएको थियो ।
पुलको सोलुखुम्बुका प्रतिनिधिसभा सदस्य हेमकुमार राई ‘सुरवीर’, प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी, माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई र खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाले गरेका थिए । हिन्दू र बौद्ध परम्पराअनुसार पुलको शिलान्यास गरिएको थियो । जलप निर्माण कम्पन्नीले ८ करोड ३४ लाख ८० हजारमा निमार्णको जिम्मा पाएको थियो । जसमा माप्य र खुम्ब पासाङल्हामु गाउँपालिकाले समान ३–३ करोड प्रदेश सरकारको २ करोड र संघीय सरकारको १ करोड बजेटमा यो पुलको निर्माण कार्य सम्पन्न भएको हो ।