काठमाडौं । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले महाशिवरात्रिको अवसरमा शिवको मूर्तिको प्राण प्रतिष्ठा गर्ने भएको छ । कम्पनीले केबलकार चोक, ठूल्ढुङ्गा, बन्दीपुर (बटम स्टेसन)मा फागुन २५ गते भगवान् शिवको मूर्तिको प्राण प्रतिष्ठा तथा अभिषेक कार्यक्रम आयोजना गर्न लागेको हो ।
उक्त दिनमा भजनसहित शिव धुनी कार्यक्रम पनि हुने बताइएको छ । कम्पनीले सो कार्यक्रममा सहभागी हुन स्थानीयलगायत भक्तजनहरूलाई आग्रह गरेको छ । कम्पनीले बन्दीपुर केवलकार २०८१ वैशाख १ गतेदेखि सञ्चालनमा ल्याउनका निमित्त तयारी व्यापक रूपमा अगाडि बढिरहेको समेत जनाएको छ । सो परियोजनाको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भइसकेको बताइएको छ । यस्तै, यो दक्षिण एसियामा नै मौलिक परियोजना भएको कम्पनीले दाबी गरेको छ । परियोजनाको लागत तीन अर्ब ५८ करोड रुपियाँ रहेकोमा बैंक ऋण एक अर्ब तीन करोड रहेको कम्पनीका वित्तीय निर्देशक शिवप्रसाद शर्माले बताए ।
यस्तै, कम्पनीले आईपीओ समेत बिक्रीमा ल्याउने भएको छ । कम्पनीको जारी पुँजी दुई अर्ब ५५ करोडको १२ प्रतिशतले हुन आउने रकम ३० करोड ६० लाख बराबरको एक सय रुपैयाँ अंकित दरमा ३० लाख ६० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
सोमध्ये दुई प्रतिशत स्थानीय, दुई प्रतिशत प्रवासी नेपाली, सामूहिक लगानी कोष तथा कम्पनीका कर्मचारीहरूलाई छुटाइने कम्पनीले जनाएको छ ।