बाँके, जेठ २१
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गलाई नेपालगञ्ज उद्योग वाणिज्य संघले मंगलबार स्वागत गर्दै बजार खुकुलो बनाउन माग गरेको छ । लकडाउनका कारण उद्योगी तथा व्यवसायीहरु मारमा परेको भन्दै विस्तारै बजार खोल्न दिन माग गर्दै संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गलाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।
संघले नयाँ प्रमुख जिल्ला अधिकारीलाई कुशल एवं उत्कृष्ट प्रमुख जिल्ला अधिकारीका रुपमा स्वागत गर्न पाउँदा बाँकेका उद्योगी, व्यवसायी हर्षित भएको उल्लेख गरेको छ । ‘बधाईका साथै सफल कार्यकालका लागि हार्दिक शुभकामना व्यक्त गर्दै जिल्लाको शान्ती, सुरक्षा एवं अमनचयन कायम गर्न निजीक्षेत्रका तर्फबाट सदैव सक्रियतापूर्वक सहयोग रहने दृढ बिश्वास दिलाउँछौं’, संघले भनेको छ । संघले बजार खुकुलो बनाउने उद्योगी, व्यवसायीको राय प्रमुख जिल्ला अधिकारी समक्ष पेश गरेको छ । ‘एकातिर कोरोनाको कहर छ भने अर्कोतर्फ लकडाउनका कारण उद्योग, व्यवसाय ठप्प भएका कारण उद्योगी, व्यवसायी घाटा ब्यहोरीरहेको अवस्था सिर्जना भएको छ’, संघले भनेको छ । उसले व्यापार नचलेपनि बैंकको ऋणदेखि सरकारलाई बुझाउनुपर्ने करहरु तिर्नुपर्ने ताकेता आउँदा व्यवसायीहरु दिनप्रतिदिन मर्कामा पर्दै गएको बताएको छ ।
नेपालगञ्ज पश्चिम नेपालको आर्थिक केन्द्र हो । यहाँको उद्योग, व्यवसाय ठप्प हुँदै यस क्षेत्र नै प्रभावित भएको छ । लकडाउन कहिले खुल्ने भन्ने निश्चित नभएको अवस्थामा उद्योगी, व्यवसायी अझ अन्यौलग्रस्त भइरहेका छन् । यसबीचमा उद्योगी, व्यवसायीले लकडाउनकै बीचमा स्वास्थ्य सजगता अपनाएर बजारलाई उचित, आवश्यक विधि र प्रक्रिया अपनाएर बजारलाई खुकुलो बनाउँदै लैजानुपर्ने विषयमा एकमत छन् । कोरोना महामारीबाट जोगिने गरी व्यापार व्यवसाय सञ्चालन गर्न प्रशासनका तर्फबाट आवश्यक सहयोग र समन्वयका लागि संघले अनुरोध गरेको प्रवक्ता टंक बहादुर धामीले बताए । स्वागत कार्यक्रममा निवर्तमान अध्यक्ष नन्दलाल वैश्य, वरिष्ठ उपाध्यक्ष आदेश अग्रवाल, उपाध्यक्ष अमित बस्नेत, महासचिव चिरञ्जीवी ओली लगायतका पदाधिकारी एवं कार्यसमिति सदस्य उपस्थित रहेका थिए ।
स्वागत कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले उद्योगी, व्यवसायीका जायज मुद्दामा साथ रहने बताए । बाँकेका कोरोनाको हटस्पट भएको बताउँदै तत्काल बजार खुकुलो बनाउने परिस्थीति नरहेको स्पष्ट पारेका छन् । प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले लकडाउनका मोडालिटीबारे छलफल भइरहेको बताउँदै जेठ ३२ गतेको अवस्थासम्म पर्खिन व्यवसायीहरुलाई सुझाव दिएका छन ।’