विराटनगर । मोरंग व्यापार संघले जिल्ला प्रशासन कार्यालय मोरङबाट संस्था नवीकरण नै नगरी गत पुुस महिनामा विराट एक्स्पो आयोजना गरेको पाइएपछि विवाद उत्पन्न भएको थियो । सो विवादपछि मोरङ व्यापार संघले हालै जरिवाना तिरी संस्था नवीकरण गरेको जिल्ला प्रशासन कार्यालय मोरङले जानकारी दिएको छ ।
नवीकरण नै नभएको संस्थालाई जिल्ला प्रशासन कार्यालय मोरङले मेला सञ्चालन गर्न अनुमति दिए पनि प्रशासन र संघ दुवै आलोचित भएका थिए । त्यसबेला नै मोरङ व्यापार संघले २०७८ सालको असार मसान्तसम्म मात्रै संस्था नवीकरण गरेको थियो । मोरङ व्यापार संघजस्तो संस्था दुई वर्षदेखि नवीकरण नहुनु लज्जाको विषय भएको भन्दै उद्योगी तथा व्यवसायीहरूले संस्थाको नेतृत्व गर्नेहरूको व्यापक आलोचना समेत गरेका थिए । कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले पनि व्यापार संघले आयोजना गर्ने मेलालाई पाँच लाख सहयोग गर्ने सार्वजनिक सूचना समेत प्रकाशित गरेको थियो । सहयोग लिने संस्थाको नवीकरण प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने भनिएको अवस्थामा संघ र मन्त्रालयको मिलेमतोमा नवीकरण नै नभएको संस्थालाई ५ लाख रुपैयाँ दिनेगरी सम्झौता नै भएको घटना समेत बाहिरिएको थियो ।
जिल्ला प्रशासन मोरङबाट मेलाको अनुमति लिँदाको बेला संस्था मोरङ व्यापार संघ एक्स्पो–२०२३ भनी मेला आयोजना गरिएको तर सोही मेलाको प्रदेश सरकारसँग अनुुदान लिने सम्झौतामा भने मोरङ व्यापार संघ भनी उल्लेख गरिएको घट्ना पनि बाहिरिएको थियो । अर्कोतिर मोरङ व्यापार संघले यो मेला सञ्चालन गर्न गत मंसिर १४ गते नै आन्तरिक राजस्व कार्यालय विराटनगरमा ‘मोरङ व्यापार संघ एक्स्पो–२०२३’ को नाममा अस्थायी पान समेत लिएको खुलेको थियो । लामो समयको विवादपछि संस्था हाल भने कानुनीरूपमा आएको छ ।