दोलखा । जिल्लाको मेलुङ गाउँपालिकाले स्थानीय महिलालाई आत्मनिर्भर बनाउन साबुन बनाउने तालिम दिएको छ । गाउँपालिकाले वडा नम्बर–३ का स्थानीय महिलाहरूलाई लक्षित गरी १० दिने साबुन बनाउन सिकाएको हो ।
पालिकाको लघुउद्यम विकास शाखाले सिप किसाएर आत्मनिर्भर बनाई गरिबी निवारण गर्ने उद्देश्यले १८ जना स्थानीय महिला तथा पुरुषलाई १० दिन लुगा धुने साबुन बनाउन सिकाएको लघुउद्यम विकास शाखामा कार्यरत दिनेश थापाले बताए । फागुन ६ गतेदेखि १५ गतेसम्म तालिम सञ्चालन भएको थियो । तालिममा सहभागीहरूलाई गाउँपालिका अध्यक्ष हिराकुमार थोकरले प्रमाणपत्र प्रदान गरेका थिए । सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै अध्यक्ष थोकरले तालिममा सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गरे । सिकेका सिपलाई व्यावसायीकरण गरी अर्थोपार्जन गर्न उनले सुझाव दिए । सुरुवातमा खर्च कम गर्न दुई तीन जना मिलेर व्यवसाय सञ्चानल गर्न पनि उनले सहभागीहरूलाई सुझाव दिए ।
आर्थिक अवस्था कमजोर भएका तथा सिप सिकाएर आर्थिकस्तर उकास्ने उद्देश्यले साबुन बनाउने तालिम आयोजना गरिएको गाउँपालिकाकी उपाध्यक्ष गायत्री आचार्यले बताइन् । दैनिक सरसफाइका लागि आवश्यक पर्ने साबुन बनाउने सिपले स्थानीय महिलाहरू खुसी देखिएका थिए । पालिकाले सिन्धुपाल्चोकदेखि प्रशिक्षक र कच्चा पदार्थ ल्याएर स्थानीय स्रोतसाधनको प्रयोग गरेर महिलाहरूलाई तालिम दिएको हो ।