म्याग्दी । पर्यटक आगमन बढाउने र बसाइँ लम्ब्याउन मुस्ताङमा नयाँ पदमार्गको पहिचान गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सडकका कारण विस्थापित भएका पदमार्गको विकल्पमा नयाँ पदमार्ग पहिचान गरेको हो । एक्याप जोमसोमका रेञ्जर सञ्जोक थकालीले तीन नयाँ पदमार्ग पहिचान गरिएको जानकारी दिए ।
लुप्रा–मुक्तिनाथ, ठिनी–तिलिचो ताल र कोखेठाटी– सिरकुुङ–सौरु–चोखोपानी–चिमाङ–धुम्बाताल जोड्ने पदमार्ग पहिचान गरेर पूर्वाधार निर्माण, प्रचारप्रसार र प्रवद्र्धन थालिएको उनले बताए । ‘स्थानीयवासीले आवतजावतका लागि प्रयोग गरिरहेको घोरेटो बाटोलाई पदमार्गको रूपमा प्रयोग गर्न संकेत चिह्न, सूचनापाटी राख्ने काम गरिएको छ’, उनले भने, ‘केही ठाउँमा व्यवस्थित पदमार्ग बनाउन आवश्यक देखिएकाले योजना प्रस्ताव गरेर बजेट माग गरेका छौं ।’