काठमाडौं । प्रिमियर स्टिल प्रालिको पूर्वाधार डेभलपर्स एन्ड कन्ट्र्याक्टर्स मिट हालै काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा प्रिमियर स्टिलका प्रबन्धक निर्देशक पवन सारडाले अहिले सरकारको ढुकुटीमा पैसा नभएको भन्दै कन्ट्रयाक्टरहरूले रकम भुक्तानी नपाएकाले केही समस्याहरू उत्पन्न भइरहेको बताए ।
नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले नेपालमा निर्माण व्यवसायीको राम्रो सम्भावना भए पनि सरकारले समयमा भुक्तानी नदिँदा यो सम्पूर्ण क्षेत्र नै बदनाम हुन पुगेको सुनाए । आफू निर्माण व्यवसायमा आबद्ध भएपछि स्टिलमा प्रिमियर स्टिल आफ्नो पहिलो प्राथमिकतामा पर्ने गरेको समेत बताए । तर सरकारले पुँजीगत खर्च गर्न नसकेको कारण निर्माण व्यवसायी र उद्योगीहरूको सम्बन्ध चिसिँदै गएको भन्दै उनले चिन्ता व्यक्त गरे । कार्यक्रमका उद्योग सचिव मुकुन्द निरौलाले सरकारलाई मात्र दोषी नभन्न आग्रह गर्दै सरकारले एक व्यक्ति वा एक कम्पनीको बारेमा मात्र नभएर सबैको लागि काम गर्नुपर्ने जिम्मेवारी रहेको बताए ।
कार्यक्रममा सारडा ग्रुपका निर्देशक सौरभ सारडाले कम्पनीलाई छ वर्षको अवधिमा हालजस्तो कठिन परिस्थिति कहिल्यै नआएको बताए । उनले उद्योगी र निर्माण व्यवसायीहरूको सम्बन्ध नङ र मासुको जस्तो रहेको औँल्याउँदै सबै मिलेर गए मात्र यस कठिन परिस्थितिलाई चिर्न सकिने उल्लेख गरे ।